नेपाल दलित महिला उत्थान संघ एड्वानको २३औँ वार्षिक साधारण सभा तथा अधिवेशन आज चितवनको पर्यटकिय नगरी सौराहामा सम्पन्न भएको छ । अधिवेशनले बिन्दु परियार थापा को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमतका साथ चयन गरेको छ । २३औँ साधारण सभाले थापाको अध्यक्षतामा तिर्थ विक उपाध्यक्ष ,पम्फा थापा परियार महासचिव, पम्फा नेपाली सचिव तथा कोषाध्यक्षमा सपना सुनार लाई सर्वसहमत चयन गरेको हो । यस्तै सदस्यहरुमा राममाया विक र सपना परियार रहेका छन् ।
संघका अध्यक्ष पम्फा परियारज्यूको अध्यक्षतामा एवं नीति अनुगमन समितिको सभापति तथा एकिकृत समाजवादी पोलिटब्युरो सदस्य तथा एड्वान सल्लाहकार निरु जैरुको प्रमुख आतिथ्यता र संस्थापक अध्यक्ष तथा संरक्षक डा.विष्णु माया परियारको विशिष्ट आतिथ्यतामा उक्त साधारण सभा अधिवेशनको समुद्घाटन समारोह सम्पन्न भएको हो ।
२३ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख आतिथि निरु जैरुले नेपाल दलित महिलाको लागि एड्वान् संस्था गर्व को कुरा रहेको बताउनु भएको थियो । दलित महिला र पुरुष बिच पनि बेला बेला मा आउने मतभेदले विविध परिस्थिति सिर्जना गराएको हुँदा यस्ता खालका विभेद हटाउने मुख्य योजना भएको जैरुले बताउनु भएको थियो ।
त्यस्तै विशिष्टः अतिथि डा. विष्णु माया परियारले अहिले को महिला समुहलाई देख्दा बुवा र आफ्नो सपना पुरा भएको महसुस भएको बताउनु भयो साथै आफुले संस्था स्थापना गर्दाको दुख र समस्याको बारेमा पनि बताउनु भएको थियो ।
कार्यक्रममा रत्ननगर नगरपालिका कार्यपालिका सदस्य राजेन्द्र हमाल, एड्वान सल्लाहाकार राम नेपाली, महिला समूह बाट सिता सुनार , स्पन्सर बिधार्थी सुनिता परियार लगाएतले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा संघका सचिव तिर्थ विकले स्वागत मन्तव्य राख्नु भएको थियो ।
नेपाल दलित महिला उत्थान संघ एड्वानले नेपालका विभिन्न क्षेत्रमा छरिएर रहेका दलित तथा गैर दलित महिलाहरुलाई सामुहिक रुपमा एकिकृत गराउदै आएको छ । साथै मौसमी तथा बेमौसमी तरकारी खेति , उद्धमशिलता क्षमता विकास, लैंगिक समानताका कार्यक्रम , नया महिला समूह गठन , सिलाई कटाई तालिमहरु प्रदान गर्दै आएको छ ।

