चितवन, २५ असार । बहुलहर रत्ननगर अस्पतालले सेवाहरु विस्तार गर्दै लगेको छ । अस्पतालले ६ शैयाको शिशु सघन उपचार कक्ष एनआईसियु र दुरविन प्रविधिबाट शल्यक्रिया सेवा शुरु गरेको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.विश्वबन्धु बगालेका अनुसार नवजात शिशुको उपचारका लागि एनआईसियू शुरु गरिएको हो । प्रसुती सेवा दिंदै आएको अस्पतालमा एनआईसियूको अभाव रहेको थियो । हाल ६ शैयाको एनआईसियू शुरु गरिएको भए पनि १२ शैयासम्म विस्तार गर्न सकिने उनले बताए । भर्खर जन्मेकोदेखि २८ दिनसम्मको शिशुको उपचारमा एनआईसियू प्रभावकारी हुने उहाँको भनाई छ । जन्मिदा नै आफैँ सास फेर्न नसक्ने र गम्भीर खालका स्वास्थ्य समस्या देखिएका शिशुलाई एनआइसीयूको आवश्यकता पर्दछ ।

विगतमा एनआईसियु आवश्यक पर्दा भरतपुर पठाउनु पर्ने अवस्थाको अन्त्य भएको डा. बगालेले बताए । उनले भने “अब हामी भरतपुरमा एनआईसियू अभाव हुँदा यहाँबाट समेत सेवा दिन सक्छौं ।” एनआईसियू संचालन गर्न भने जनशक्तिको अभाव रहेको उनले बताए । ६ शैयाको एनआईसियु संचालन गर्न कम्तीमा १० जना तालिम प्राप्त नर्स आवश्यक पर्नेमा हाल ४ जनाले काम गरिरहेको उनले बताए ।

अस्पतालमा मासिक एक सय जनाले प्रसुती सेवा लिंदै आएका छन् । प्रसुती सेवा दिने अस्पतालमा एनआईसियू अति आवश्यक हुने डा. बगाले बताए ।

यसैगरी अस्पतालले दुरविन प्रविधिबाट शल्यक्रिया सेवा शुरु गरेको छ । पित्तथैली, महिलाको पाठघर सम्बन्धी शल्यक्रिया, कान लगायतका अंगमा यो प्रविधिबाट शल्यक्रिया गर्न सकिने उनको भनाई छ । पेट नचिरी स–साना प्वाल पारेर दुरबिनजडित अत्याधुनिक उपकरणले गरिने शल्यक्रिया नै ल्याप्रोस्कोपिक सर्जरी अर्थात दुरबिन पद्धतिबाट गरिने शल्यक्रिया हो । यस्तो विधिको शल्यक्रिया चिरेर गरिने शल्यक्रियाको तुलनामा धेरै सुविधाजनक र सहज हुने डा. बगालेले बताए । नचिरी शल्यक्रिया गरिने भएकाले घाउ पनि सानो हुने र कतिपय अवस्थामा त बिरामी बिहान शल्यक्रिया गरेर साँझमा घर फर्कन सक्ने उनको भनाई छ ।

५० शैया (बेड) स्वीकृत पाएको अस्पतालले हाल ८० शैया सञ्चालन गर्दै आएको छ । अस्पतालमा ३ शैयाको शल्यक्रिया कक्ष, १० शैयाको पोष्टअप रहेका छन् । अस्पतालमा १६ जना विशेषज्ञ, १० जना मेडिकल अफिसर र ३० जना नर्स कार्यरत रहेका छन् ।

पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालले पूर्वी क्षेत्रका चार वटा नगरपालिकाका वासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । विगतमा स्वास्थ्य बीमाका बिरामीलाई अन्यत्र रिफर गर्ने सेन्टर जस्तो रहेको अस्पतालमा अहिले अधिकांश विभागमा विशेषज्ञ चिकित्सक सहितको टोली छ । अस्पतालको सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएका मेडिकल सुपरिटेण्डेण्ट डा. बगाले राजधानी बाहिरको प्रदेश स्तरको अस्पतालमा अग्रणी अस्पतालको रुपमा अघि बढ्न यो अस्पताल सफल भएको बताए ।

अस्पतालमा मेडिसिन सेवा, सर्जरी, प्रसूति, बालबालिका, छाला, नाक/कान/घाँटी, रेडियोलोजी, अर्थोपेडिक, अल्ट्रासाउण्ड, एक्सरे लगायतका सुविधा उपलब्ध छन् । चौबीसै घण्टा फार्मेसी, प्रयोगशाला, चिकित्सक सहित आकस्मिक सेवा सञ्चालन छन् । अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ भने पिसिआर ल्याब (प्रयोगशाला) समेत रहेको छ । कान्तिपुर हेल्थ

प्रतिक्रिया

सम्बन्धित खवर