असार २५, रत्ननगर । रत्ननगरमा चेतनामुलक विद्यालय पाठ्यसामग्री पुस्तकको कार्यान्वयनका लागि आज (शनिवार) समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र रत्ननगर नगरपालिकाको सहकार्यमा प्रकाशित सो पुस्तकको कार्यान्वयनको लागि प्रहरी, स्थानीय सरकार, सामुदायिक विद्यालय, निजी विद्यालय र क्याम्पसहरु बीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

विद्यालयमा सो पुस्तक अध्यायपन गराउने गरी सामुदायिक विद्यालयको तर्फबाट ओमशान्ति आधारभूत विद्यालयकी प्रध्यानाध्यापक राधा चौधरी, निजी विद्यालयको तर्फबाट प्याब्सन रत्ननगरका अध्यक्ष पशुपती उपाध्याय र क्याक्पसहरुको तर्फबाट शहीद स्मृति बहुमुखी क्याम्पसका सहप्रध्यापक रामहरि भण्डारीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

पुस्तकमा लागुऔषध र्दुव्यशनी, धुम्रपान, मद्यपान, साइबर अपराध र उजुरी, सामाजिक सञ्जालको समुचित प्रयोग, सामाजिक अपराध, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणी सम्बन्धी कसुर, ट्राफिक सचेतना, विपद् जोखिम र न्यूनीकरण,आत्महत्याका संकेत र बचाउने तरिका, घटना स्थलको सुरक्षा, अपराधको स्रोत,प्रहरी चारित्रिक प्रमाणपत्र, घटना रोकथामका उपायहरु, असल मानिसको कतव्य र जिम्मेवारी, चितवन प्रहरीमा उजुरी दिने तथा सम्पर्कका माध्यमहरु,आत्मरक्षा र बच्ने उपायहरु समाबेश गरिएको छ ।

सामाजिक अपराधका घटना न्यूनीकरण गर्न विद्यार्थीलाई सचेत गराउने उद्देश्यले प्रहरी र स्थानीय सरकारको सहकार्यमा प्रकाशनमा ल्याइएको सो पुस्तक रत्ननगरका सामुदायिक र निजी विद्यालयमा पाठ्यक्रमका रुपमा अध्यायपन गराइने मेयर प्रल्हाद सापकोटाले बताए । समाजमा हुने विभिन्न अपराधिक घटना न्यूनीकरण गर्दै अन्त्य गर्ने दीर्घकालिन योजनाका साथ पुस्तक प्रकाशनमा ल्याएको उनको भनाई छ ।

उपमेयर यादबप्रसाद पाठकले पुस्तक कार्यान्वयनको पक्षलाई प्रभावकारी बनाउदै सामाजिक अपराध नियन्त्रणको महत्वपूर्ण साधनको रुपमा पुस्तकलाई स्थापित गरिने बताए ।

मेयर सापकोटाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख शुशीलसिंह राठौर, रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, वडा नं १० का वडाध्यक्ष कलाधर पौडेल, सामुदायिक सेवा केन्द्र नारायणढकी अध्यक्ष मीना खरेल, सामुदायिक सेवा केन्द्र रत्ननगरका अध्यक्ष भूपेन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

जिल्ला प्रहरी कार्यालयका चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रविनबाबु रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार