चितवन, असार २० । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकिने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनले लाईसेन्स वितरणको सम्पुर्ण तयारी गरेपछि साउनको दोश्रो सातादेखि प्रयोगात्मक परिक्षा समेत भरतपुरमै हुने भएको छ ।
यसअघि कार्यालयले असार अन्तिम सातादेखि नै ट्रायल लिने बताउदैं आएको थियो । तर वाग्मती प्रदेशका मुख्यमन्त्रीको कार्यालयको निर्देशनमा ट्रायल सेन्टरको विषयलाई लिएर यो प्रक्रिया स्थगित भएको थियो ।
चितवनमा ट्रायल सेन्टर उपलब्ध गराउने भनी छवटा ट्रायल सेन्टरले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गरेका थिए । प्राविधिक प्रस्तावको मूल्याङ्कनमा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरू ड्राइभिङ छनोटमा परेका छन् । यातायात व्यवस्था सेवा कार्यालयले अब असार २३ गते आर्थिक प्रस्ताव खोल्ने र मूल्याङ्कन गरिने जनाएको छ । थोरै शुल्क लिएर ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गर्ने एउटा ट्रायल सेन्टर आर्थिक मूल्याङ्कनमा छनोटमा पर्ने यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलले बताए ।
ट्रायल लिन कार्यालयलाई कम्तीमा तीनदेखि पाँच जनासम्म कर्मचारी चाहिने उनले बताए । चितवनबाट सुरूमा ‘क’, ‘ख’ र ‘ग’ वर्गको सवारीसाधनको ट्रायल लिइने उनले बताए । ‘क’ वर्गमा मोटरसाइकल, स्कुटर, मोपेड, ‘ख’ वर्गमा चार र तीनपाङ्ग्रे साना सवारीसाधन र ‘ग’ वर्गमा हेभी र मझौला आकारका सवारीसाधन पर्छन् ।

