चितवन, जेठ ३१ । जापानमा बस्दै आएका चितवनका समाजसेवी दिपक बाबु नेपालको अगुवाईमा मिरा नेपालीका लागि घर निर्माण गरि हस्तान्तरण गरिएको छ । दयनिय अवस्थामा रहेको एकल महिला नेपालीका लागि घर निर्माण गरिएको हो । प्रमुख अतिथी रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले एक कार्यक्रमका बिच नेपालीलाई घरको साँचो दिई घर हस्तान्तरण गरे ।
घर हस्तान्तरण गर्दै मेयर सापकोटाले राज्यले गर्ने काम यहाँका सामाजिक व्यक्तिहरुले गरेकोमा धन्यवाद व्यक्त गरे । विपन्न वर्गलाई शिक्षा, स्वास्थ, गाँस, वास, कपासको आवश्यकता रहेको उनले बताए । यस्तै, सामाजिक अभियन्ता दिपक नेपाले भने, मिरा नेपालीको अवस्था दयनिय देखेर हामीले सहयोग जुटाएर घर बनाएका हौँ ।” दुःखी, गरिवको समस्यामा आफूहरु जहिले पनि खडा हुने नेपालको भनाई छ ।
रत्ननगर नगरपालिका वडा नं. १३ बुढीकुलोमा बसोबास गर्ने नेपालीका लागि जापान तथा नेपालमा आर्थिक सहयोग सङ्कलन गरी घर निर्माण गरिएको हो । भत्केको सानो एक कोठाको घर जस्ता पाताले बारेर त्यहीँभित्र जीवन गुजारिरहेका नेपालीका लागी दिपक बाबु नेपालले सहयोग जुटाएर घर बनाइदिएका हुन् । मिरा नेपालीकै १५ धुर जग्गामा घर निर्माण गरिएको छ । घर बनाउन रु ४ लाख खर्च भएको उनको भनाइ छ । घर निर्माणका लागि स्वदेश र विदेशबाट दाताले रु ७ लाख ४१ हजार पठाएका छन् । घर निर्माण बाट बाँकी रहेको रु ३ लाख ४१ हजार रकम विपन्न परिवारहरुलाई सहयोग गर्दै जाने नेपालले बताए । टिनले छाएको चिटिक्कको घरमा मिरा नेपाली र उनका तीन छोरी बस्न शुरु गरेका छन् । मिरा नेपालीका परिवारका लागि दाताकै सहयोगमा लत्ताकपडा र भाँडावर्तनको व्यवस्था पनि गरिएको छ ।
मिरा नेपालीको श्रीमानको १ वर्ष अगाडी जन्डीस भएर उपचारको अभावमा मृत्यु भएको थियो । नेपालीका ५ छोरी मध्ये दुई जनाको विवाह भईसकेको छ भने तीन छोरी मिरासंगै छन् । १२ वर्षकी छोरी कक्षा ५ मा अध्ययनरत छिन् भने ६/६ वर्षकी दुईवटी छोरी सगरमाथा स्कूलमा यूकेजीमा अध्ययन गरिरहेकाछन् । घर हस्तान्तरण कार्यक्रममा सामाजिक अभियन्ता ज्ञानेन्द्रराज पाण्डे, मुरली प्रसाद गजुरेल, भेषराज दुवाडी, माधव अर्याल लगाएत स्थानीयहरुको सहभागीता रहेको थियो ।





