काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) को जित निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितसँग बालेनले बनाएको मतान्तर गन्न बाँकी मतभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो ।

पछिल्लो मतपरिणामअनुसार बालेनले ५६ हजार १ सय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै सिर्जना सिंह ३५ हजार ४ सय ७८ मतसहित दोस्रो स्थानमा रहँदा स्थापित ३४ हजार ८ सय ५४ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । उनले प्रतिस्पर्धी उम्मेदवार गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भन्दा झन्डै तेब्बर मत ल्याएकी छिन् । डंगोलले ६२ हजार ८ सय ७८ मत ल्याउँदा श्रेष्ठले २१ हजार ५ सय १४ मत ल्याएका छन् ।

यस पटकको स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित केही पालिका प्रमुख र वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी हुने अवस्था आएको छ । धरानमा हर्कराज साम्पाङ राई, धनगढीमा गोपाल हमाल र जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार