चितवन, जेठ ९ । भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड प्रा.डा कृष्णप्रसाद पौडेलका अनुसार यसअघि बिहान ८ बजेबाट ओपिडी टिकट खुला गरिँदै आएकोमा एक घण्टा अघिदेखि नै टिकट खुल्ला गरिएको हो । उनका अनुसार बिहान साढे ८ बजेबाट जिओपिडी (जनरल ओपिडी) सेवा शुरु हुनेछ भने विशेषज्ञ क्लिनिक साढे ९ बजेबाट सुरु हुनेछ ।
यसअघि मध्याह्न १२ बजेसम्म ओपिडी टिकट खुल्ने हुने गरेकोमा आधा घण्टा थप गरी अब टिकट काउन्टर साढे १२ बजेसम्म खुल्ने छ । सोमबारदेखि शुक्रबारसम्म बिदाको दिन बाहेक यो नियम लागू हुने पौडेलले जानकारी दिए । ओपिडी सेवामा परीक्षण भने साढे ९ बजेदेखि साढे ३ बजेसम्म हुनेछ ।
अस्पतालले आइतबार सार्वजनिक बिदाको दिन पनि निजी अस्पतालको तुलनामा कम शुल्कमा बिहान साढे ९ देखि दिउँसो १ बजेसम्म बिरामीलाई ओपिडीमा परीक्षण गर्ने व्यवस्था मिलाएको छ । रासस

