चितवन । बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा राप्ती नगरपालिकामा गठबन्धनले घरदैलो कार्यक्रमलाइ तिब्रता दिएको छ। आइतबार वडानम्बर २ मा संयुक्त कार्यालयको उद्घाटन गर्दै उनीहरुले घरदैलो सुरु गरेका हुन। राप्ती नगरपालिका मेयर पदका उमेदवार तथा नेकपा एकीकृत समाजवादी राप्तीका अध्यक्ष शमशेर लामाले राप्तीमा हाल बेथिति बढ्दै गएकोले सो तोड्नको लागि गठबन्धन बनेको बताए । ‘हामी कतै अलमलिनु र रुमलिनु पर्दैन, हामी एक ढुक्क छौ र चुनाव जित्छौँ ।’ राप्ती नगरपालिकाको जनताको साझा समस्यालाई समाधान गर्न गठबन्धनको जिम्मेवारी गठबन्धनको काँधमा आएको उनले बताए।
युवाले नै देशको भविष्य निर्धारण गर्ने, भविष्यका कर्णधार मात्र नभएर वर्तमान अवस्थामा सबै युवाहरुलाई हिस्सेदार हुनु पर्ने समय आएको उनको भनाइ थियो। २०७४ सालमा निर्वाचित भएका धेरैजसो जनप्रतिनिधिहरुसँग जनता खुशी हुन नसकेको उनले बताए । उनले भने, ‘जनताको भावना, सम्बोधन र समन्वयको हिसाब किताब हुन्छ ।’
राप्ती नगरपालिकाबाट धेरैलाई जिताएर जनप्रतिनिधिहरु पठाए पनि जनताको भावना अनुरुप काम नगरेकोले आजको यो गठबन्धनको आवश्यकता रहेको लामाले औंल्याए । ‘कसम खुवाएर उनीहरुलाई जिताएका थियौं’ उनले भने, ‘परिणाम फरक आएकोले गठबन्धन जन्मेको हो ।’ उनीहरुको विकृतिलाई चिर्नुनै गठबन्धनको मुख्य उद्देश्य भएको लामाको भनाइ थियो।
उनले सोही अवसरमा बैशाख ३० गते गठबन्धनका सबै उमेदवारलाई भोट दिन समेत आग्रह गरे । गठबन्धनले पनि आफ्नो भूमिका निर्वाह गर्न, सबै जनसमुदायलाई गठबन्धनको उमेदवारलाई जिताउन उनले जोड दिएका थिए । उनले निर्वाचित भएपछि सबै जनसमुदायको समस्या समाधान गर्ने वाचा र प्रतिबद्धता समेत व्यक्त गरे ।


