चितवन, चैत्र २४ । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा पनि सुकुम्वासीहरुलाई लाल पुर्जा वितरणको प्रक्रियाका लागि निस्सा वितरण सुरु गरिएको छ ।

नगरपालिकाले वडा नं ४ बाट भूमिहिन दलीत र भूमिहिन सुकुमबासीलाई जग्गा दर्ता भएको प्रमाणपत्र निस्सा वितरण सुरु गरेको हो । बिहीबार आयोजित कार्यक्रममा मेयर नारायण वनले ३७ जनालाई निस्सा वितरण गरेका हुन् । सुकुमबासीको जग्गा नापीको काम अन्तिम चरणमा पुगेको बेला सो नगरपालिकाले निस्सा वितरण सूरु गरेको हो ।

वडा नं ४ बाट सूरु भएको निस्सा वितरणको काम १६ वटै नगरपालिकामा गर्ने मेयर वनले बताए । सो नगरपालिकाले आफ्नै जनशक्ति परिचालन गरी जग्गा नापेर सुकुमबासीलाई निस्सा वितरण गरेका हो ।

आयोग चितवनका अध्यक्ष बद्रि तिमिल्सिना रत्ननगरका सुकुमबासी बस्ती अबलोकन गर्न आउदा मेयर सहितका जनप्रतिनिधिहरुलाई सम्पर्क समेत नगरेको आरोप लागेको छ । सुकुमबासीलाई लालपूर्जा वितरणको विषयमा आयोगका अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधिलाई बेवास्ता गरेका छन् ।

निस्सा वितरण कार्यक्रममा मेयर वनले आयोगका अध्यक्ष तिमिल्सिना रत्ननगर आउदा आफु लगायत वडाध्यक्षहरुसंग सम्पर्क नगरेको बताए । मेयर वनले निर्वाचन अघि नै रत्ननगरका सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने बताए ।

कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष राजन भट्टले आयोगका अध्यक्ष तिमिल्सिनाले लालपूर्जाको नाममा भोटको राजनीति गरेको आरोप लगाए । अध्यक्ष तिमिल्सिनाले सुकुमबासीलाई भड्काउदै हिड्नु भएको छ उनले भने हामीलाई दोष दिएर उहाँलाई के मिल्छ ?

वडाध्यक्ष रविन्द्र चौधरीले नापीको काम सकेर सुकुमबासीलाई निस्सा वितरण गरेको भन्दै छिट्टै लालपूर्जा वितरण गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार