रत्ननगर ।
किराना तथा खाद्य व्यवसायी संघ रत्ननगरको ११औं बार्षिक साधारण सभा सोमबार गरिएको छ । साधारण सभामा व्यवसायीहरुले अनुगमनका नाममा राज्यले दमन गरेको आरोप लगाएका छन् ।
व्यवसाय गरेबापत आफुहरुले राज्यलाई कर तिरेको भन्दै उनीहरुले राज्यद्धारा सिर्जित समस्याको भागिदार व्यवसायीहरु हुने गरेको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर नारायण वनले रत्ननगरको टाँडी बजारलाई सिरानी हालेर पूर्वी चितवनलाई व्यवसायिक हब बनाउनु पर्ने बताए ।
गुणस्तरीय सामाग्री खरिदका लागि रत्ननगर जानुपर्ने भन्ने बाध्यकारी अबस्थाको सृजना गर्न व्यवसायीहरु लाग्नु पर्ने बताए । टाँडी बजारलाई व्यवस्थित गरी यसलाई पूर्वी चितवनको प्रमुख व्यापारिक केन्द्र बनाउन आफु लागि परेको उनको भनाई छ । कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले राज्यले अनुगमनको नाममा व्यवसायीलाई दमन गर्दै आएको बताए । निजी क्षेत्र मुलुकको आर्थिक विकासको अंग रहेको भन्दै उनले यसैलाई मनन गरी राज्यले व्यवसायीलाई राहत दिनुपर्ने बताए ।
कार्यक्रममा रत्ननगरकी सफल महिला व्यवसायी सीताकुमारी ढकाल,त्रिनेत्र मार्केटिङका सञ्चालक र दरबाद फूड इन्डष्ट्रिजका प्रबन्ध निर्देशक रविन शर्मा भूषाललाई सम्मान गरिएको थियो । कार्यक्रममा संघका सचिव टेकनाथ अधिकारीले प्रगति तथा आर्थिक प्रतिवेशन प्रस्तुत गरेका थिए ।
संघका अध्यक्ष शिबराज मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा पौडेल,रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष शंकर गिरी, पूर्व अध्यक्ष ज्ञानबहादुर विसुराल, दरबाद फूड इन्डष्ट्रिजका प्रबन्ध निर्देशक रविन शर्मा भूषाल,संघका उपाध्यक्ष ओमप्रकास शाह कलवार लगायतले मन्तव्य राखेका थिए ।

