रत्ननगर
पूर्वी चितवनको रत्ननगर नगरपालिकाको प्रशासन शाखामा खेलाडीहरुले आइतबार तालाबन्दी गरेका छन् ।
प्रदेशस्तरीय टिम छनोटको लागि चितवनमा आयोजना गरिएको फुटबल प्रतियोगिताको टाइसिटमा रत्ननगरको टिम सहभागी गराउने विषयमा बेवास्ता गरिएको भन्दै आक्रोशित बनेका खेलाडीहरुले नगरपालिकाको प्रशासन शाखामा तालाबन्दी गरेका हुन् ।
जिल्ला खेलकुद विकास समितिले पत्रचार गर्दासमेत खेलकुद विकास समितिले रत्ननगरको टिम सहभागी गराउने विषयमा बेवास्ता गरेको खेलाडीहरुले आरोप लगाएका छन् । आक्रोशित खेलाडीहरुले यसअघि शुक्रबार पनि शिक्षा तथा खेलकुद शाखामा तालाबन्दी गरेका थिए ।
खेलाडीहरुले खेलकुद विकास समितिका संयोजक केशव आचार्यको राजीनामा माग गरेका छन् । राजीनामाको लागि निर्धारण गरेको समय सीमाभित्र संयोजकले राजीनामा नदिएपछि उनीहरुले थप आन्दोलनका कार्यक्रमअन्तर्गत आइतबार प्रशासन शाखामा तालाबन्दी गरेका हुन् ।
विवाद मिलाउन आइतबार बसेको खेलाडी, खेलकुद विकास समितिबीचको वार्ता विनानिष्कर्ष टुङ्गिएको छ । संयोजकको राजीनामा र खेलकुदमा विनियोजन गरेको बजेटको पारदर्शिताको विषयमा टुङ्गो नलागेसम्म आन्दोलन नरोकिने दीपक थापाले बताए ।

