रत्ननगर । प्रविधिमार्फत फोहोर व्यवस्थापन गर्ने गरी पूर्वी चितवनका चार नगरपालिकालाई प्रस्ताव गरिएको छ । सफा उर्जा नामक गैरसहकारी संस्थाले चार पालिकाबाट निस्कने फोहोरको सामुहिक व्यवस्थापन गर्ने गरी प्रस्ताव गरेको हो । पालिकामा दैनिक निस्कने फोहोरलाई संकलन गरी प्रविधिमार्फत व्यवस्थापन गर्ने गरी प्रस्ताव गरिएको संस्थाका संयोजक नरेश हमालले बताए । रत्ननगर नगरपालिका बाहेक कालिका, खैरहनी र राप्ती नगरपालिकाले फोहोर व्यवस्थापनको लागि उत्कृष्ट काम गर्न सकेका छैनन् ।
रत्ननगरले पञ्चकन्या सामुदायिक वनको निश्चित क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आएको छ भने संकलनको जिम्मा निजी संस्थालाई दिएको छ । फोहोर डम्पीङ गर्ने जग्गा अभावका कारण तीन पालिकामा फोहोर संकलन र व्यवस्थापनको काम हुन नसकेको हो । तीनवटै पालिकाहरुले पहिचान गरेको जग्गामा फोहोर डम्पीङ गर्न स्थानीयले अवरोध गरेपछि फोहोर संकलन समेत हुन सकेको छैन ।
चारवटै पालिकाको फोहोर संकलन गरी प्रविधिमार्फत व्यवस्थापनको प्रस्ताव गरिएको हो । संकलित फोहोरको वर्गीकरण गरी सड्ने फोहोरबाट जैविक मल, पुन प्रयोग र नसड्ने फोहोरलाई प्रविधिको प्रयोग गरेर पूर्ण रुपमा नष्ट गर्ने संस्थाका संयोजक हमालले जानकारी दिए । सफा उर्जाले फोहोर व्यवस्थापनको लागि गर्ने कामका बारेमा आइतवार खैरहनीमा सर्वपक्षीय छलफल गरिएको छ ।
कार्यक्रममा सफा उर्जाका निर्देशक डा रामहरि पौडेलले फोहोर व्यवस्थापनमा पालिकाहरुको अवस्था, संस्थाको कार्ययोजना, फोहोर व्यवस्थापन विज्ञ विकास अधिकारीले नेपालमा फोहोर मैला व्यवस्थापनको अवस्था र फोहोर व्यवस्थापनको अवधारणा तथा अर्गानिक बायो फर्टिलाइजर प्रालि चितवनका निर्देशक योगेन्द्र केसीले फोहोरबाट जैविक मल बनाउने उपायका बारेमा कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चितवन फोहोर व्यस्थापन हुन नसक्दा पूर्वी चितवनबासीको स्वास्थ्यमा परेको असर, बजारीकरणमा परेको समस्या र वन तथा वन्यजन्तुलाई गरेको असरका बारेमा श्रब्यदृश्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले पाँच वर्षको अवधिमा फोहोर व्यवस्थापनको काम निकै चुनौतीपूर्ण बनेको बताइन् । दीगो समाधानको लागि पूर्वी चितवनका चार पालिकाको सहकार्यमा काम गर्ने योजना रहेको भन्दै उनले सफा उर्जाले गरेको प्रस्तावमाथि छलफल गरेर निर्णय गर्ने बताइन ।
सफा उर्जाका श्रोत व्यक्ति शिव रिमालले सहजीकरण गरेको सो कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सुकुमबासी समस्या सामधान आयोगका पूर्व अध्यक्ष देवी ज्ञावली, रत्ननगरका मेयर नारायण वन, खैरहनीका मेयर लालमणि चौधरी सहित वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतको सहभागिता रहेको थियो ।

