२३ माघ , मकवानपुर ।
मकवानपुरको हेटौडा सिमाचोक्मा बर्षौदेखि चिया बेच्दै आएका बुद्धिबहादुर श्रेष्ठ (जेठा दाइ) को निधन भएको छ । जेठा दाइको नामबाट चर्चित उनको आज भएको सवारी दुर्घटनामा निधन भएको हो ।
मनहरीबाट हेटौँडा आउँदै गर्दा नेवारपानीमा ग्याँस बुलेटको ठक्करबाट उनको निधन भएको प्रहरीले जनाएको छ । एनएल १ एन २९९९ नम्बरको भारतीय ग्यास बुलेटले जेठा दाइ सवार ०३–०००२ प ६८८० नम्बरको स्कुटरलाई ठक्कर दिँदा निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयाे ।
बुलेटको ठक्करबाट घाइते भएका उनलाई चुरेहिल अस्पताल ल्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको उहाँले बताउनुभयो । स्कुटरलाई ठक्कर दिने ग्यास बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दासले बताउनुभयो ।
हेटौडा सिमाचोकमा वर्षौंदेखि चिया पसल सञ्चालन गरेर उनले हेटौडा–१० मा घर निर्माण गरेका थिए । चियाका लागि जेठा दाइको चिया पसल हेटौँडामा चर्चित थियो ।

