पुस ३०,काठमाडौँ
अस्ट्रेलियन सरकारले सर्बियन टेनिस स्टार नोभाक जोकोभिचको भिसा फेरि रद्द गरेको छ । अस्ट्रेलियन सरकारको आप्रवाशन मन्त्री एलेक्स हकेले शुक्रबार यस्तो निर्णय गरेका हुन् । अस्ट्रेलियन सरकारले दोस्रो पटक भिसा रद्द गरेपछि विश्व टेनिस वरीयतामा शीर्षस्थानमा रहेका जोकोभिचलाई डिपोर्ट गरिने सम्भावना बढेको छ ।
जोकोभिच अस्ट्रेलियन ओपन खेल्न अस्ट्रेलिया पुगेका हुन । सोमबारबाट मेलबर्नमा सुरु हुन लागेको यो ग्रान्डस्लाममा सहभागी हुने सबैका लागि कोभिड–१९ विरुद्धको खोप अनिवार्य गरिएको छ । खोप लगाएको वा नलगाएकोबारे नखुलाएका जोकोभिचका लागि एउटा अस्ट्रेलियन सरकारले छुट दिएको थियो । तर त्यस्तो छुट पाउनका लागि जोकोभिचले अस्ट्रेलिया उत्रेको दिन आफू कोभिडबाट सुरक्षित भएको प्रमाण पेस गर्नुपर्ने थियो ।
तर जोकोभिचले पेस गरेको प्रमाणसँग सन्तृष्ट नभएपछि मेलबर्न विमानस्थलमा अस्ट्रेलियन सीमा बलका अधिकारीले गत बिहीबार उनलाई नियन्त्रणमा लिएका थिए । त्यही दिन उनको भिसा रद्द गरिएको थियो । अस्ट्रेलियन अधिकारीले मेलबर्नबाट डिपोर्ट गर्ने तयारी गरेपछि उनी अस्ट्रेलियन अदालत पुगेका थिए ।
जोकोभिचले दायर गरेको मुद्दाको सुनुवाई गर्दै अदालतले सर्बियन खेलाडीलाई अस्टेलियामा रहन दिन आदेश दिएको थियो । तर अदालतले आदेश दिएको केही दिनपछि नै अस्ट्रेलिया को आप्रवशन मन्त्रालयले जोकोभिचको भिसा पुनः रद्द गरेको हो । दोस्रो पटक भिसा रद्द भएपछि जोकोभिच फेरि एकपटक अदालत जाने अनुमान गरिएको छ ।