२९ पुस,चितवन
चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाका मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ८ की ३३ वर्षीया राधिका थापाको मृत्यु भएको हो ।

पीडित परिवारले अस्पतालको गम्भीर लापरबाहीले मृत्यु भएको गुनासो गरेका छन् । मृतक थापाका दाजु तारा थापाले विहान साढे ८ बजेसम्म ठिकठाक नै रहेकी राधिकाको अस्पतालले सुत्केरी गराउने क्रममा लापरबाही गरेकाले मृत्यु भएको बताए ।

पुस २६ गते दिउँसो १ बजेतिर सुत्केरी व्यथाले च्यापेपछि भरतपुर अस्पताल भर्ना भएकी थापालाई साधारण ढंगले सुत्केरी गराउने भन्दै अस्पतालका डाक्टर र नर्सले २८ गते बिहानसम्म राखेका थिए ।

राधिकाका श्रीमान् सुधिर थापा ८ वर्षदेखि जापानमा बस्दै आएका छन् । उनी विगत राधिका भने दशैं अगाडि मात्रै नेपाल आएकी थिइन् । उनकी ६ कक्षामा अध्ययनरत छोरीसमेत छिन् । राधिकाले अघिल्लो पटक छोरी साधारण तरिकाले नै जन्माएकी थिइन् ।

राधिकाको शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । पोष्टमार्टम गर्न परिवारले मानेका छैनन् । बुधबार अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीसहित भएको छलफलमा अस्पतालले गल्ती र कमजोरी भएको स्वीकार गरेको मृतकका दाजु ताराले बताए ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण पौडेलले सुत्केरी गराउन आएकी राधिकाको मुटुको नशामा एक्कासी रगतको प्रेसर परेर मृत्यु भएको दाबी गरे । डा. पौडेलले राधिकाको उपचारमा अस्पतालको तर्फबाट लापरबाही नगरेको जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार