रत्ननगर । पूर्वी चितवनको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सव २०७८ को तयारी पुरा भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गते देखि माघ ८ गते सम्म महोत्सवको ११औं संस्करण हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडबाट महोत्सवको उद्घाटन हुने संघका अध्यक्ष तथा महोत्सव मुल व्यवस्थापन समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।

महोत्सवको आन्तरिक व्यवस्थापन,प्रचारप्रसार देखि स्टल निर्माणको काम सकिएको संयोजक श्रेष्ठले बताए । संघले समग्र जिल्लाको आर्थिक विकास गर्ने उद्देश्यले हरेक दुई दुई बर्षमा महोत्सव आयोजना गर्दै आएको छ । यस बर्षको महोत्वमा हेलिकप्टरबाट पर्यटकीय स्थलहरुको अबलोकन गराइने छ । जिप साइकलिङ,जीप लाइन र राष्ट्रिय स्तरको भविलब प्रतियोगिता यस पटकको मुल्य आर्कषण हो ।

रत्ननगर महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन,शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनको बजारीकरणमा सधाउने संघका बरिष्ट उपाध्यक्ष शंकर गिरीले बताए । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ३५० स्टलहरु रहने छन् ।

महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब १५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको गिरीले जानकारी दिए । कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि महोत्सवमा व्यवसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइएको छ ।

महोत्सव अन्र्तगत पौष २९ देखि ३ गते सम्म ५ दिन रत्ननगरको टांडी बजारमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकार सहित चौथौं पटक चिकेन एण्ड एग फुड फेष्टिबल आयोजना गरिएको छ । महोत्सव उद्घाटन हुनुपूर्व विहान नेपाल माविबाट शोभायात्रा निकालिने सोभायात्रा व्यवस्थापन समितिकी संयोजक विरञ्जना घिमिरेले जानकारी दिइन । शोभायात्रामा एक सय बढी संघसंस्थाले सहभागिता जनाउने छन् ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार