चितवन १५ पुस । कूल गाह्रस्थ उत्पादनमा चार प्रतिशत योगदान पुर्याएको पोल्ट्री व्यवसाय प्रवर्द्वन गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गर्दै यसवर्ष यहाँ पोल्ट्री दिवस मनाइने भएको छ। विसं २०७० मा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने घोषणा गरेको थियो। जिल्लाका पोल्ट्रीसँग सम्बन्धित विभिन्न संघसंस्थाले यसवर्ष विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउन सुरु गरेका छन्।
संघीय र प्रादेशिक सरकारसँग सहकार्य गरेर निजी क्षेत्रले कार्यक्रम गरिरहेका हुन्। नेपाल अण्डा उत्पादक संघले नवौँ पोल्ट्री दिवस शनिबार धनगढीमा मनाउँदैछ। संघका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार संघको कृषि मन्त्रालय र सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयका अधिकारी एवं निजी क्षेत्रको सहभागितामा अन्तर्क्रियात्मक कार्यक्रम गरिँदै छ।
यसअघि संघले पाँचपटक चितवनमा र अन्य वर्षमा पालैपालो बुटवल, झापा, सुर्खेत र यसवर्ष धनगढीमा कार्यक्रम गर्न लागिएको हो। नेपालमा धेरै अण्डा उत्पादन र सङ्कलन गरी बिक्रीवितरण गर्दै आएको दाउन्ने समूहका कार्यकारी निर्देशक विनोद पोख्रेलले यस कार्यक्रमले अण्डा र मासुको महत्व दर्शाउँदै पेशामा आउन उत्प्रेरणा जगाउने बताए। पोल्ट्रीसँग सम्बन्धित संघसंस्थाले यसलाई पर्वका रुपमा लिएर कार्यक्रम गर्नेक्रम सुरु भएको बताए।
नेपाल कुखुरा व्यवसायी मञ्चले दिवसका सन्दर्भमा बुधबारदेखि विभिन्न कार्यक्रम सुरु गरेको छ। मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार पहिलो दिनमा मङ्गलपुरस्थित विश्वप्रकाश माविका विद्यार्थीलाई अण्डा वितरण गरी यसको महत्त्वका बारेमा जानकारी गराइएको थियो। आज भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीलाई अण्डा वितरण गरिएको छ।
शुक्रबार रत्ननगर बकुलहर अस्पताल र वृद्धाश्रममा अण्डा वितरण गरिनुका साथै एक विद्यालयमा अण्डाको महत्वका बारेमा कार्यक्रम हुँदैछ। पोल्ट्री दिवसका दिन बागमती प्रदेशको कृषि मन्त्रालयको सहयोगमा अन्तक्र्रिया कार्यक्रम गरिँदैछ। मञ्चका सदस्य मदन पोख्रेलका अनुसार दिवसका दिन गरिने कार्यक्रममा सरकारी नीतिनियम र पोल्ट्रीको अवस्था, यलोपेथिक चिकित्सकबाट अण्डा र मासुको महत्त्व, कृषि तथा वन विज्ञान विश्वविद्यालय र निजी क्षेत्रकोतर्फबाट चार वटा कार्यपत्र प्रस्तुत गरिँदैछ।
हरेक वर्ष यो दिवसलाई विशेष अवसरका रुपमा लिएर विभिन्न कार्यक्रम गर्न थालिएको पोख्रेलले जानकारी दिए। निजी क्षेत्रको अनुरोधमा सरकारले पोल्ट्री दिवस घोषणा गरेको हो। रासस

