काठमाडौं ।

यूएईमा सम्पन्न आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले हराउँदै उसले उपाधि जितेको हो ।

अष्ट्रेलियाले पहिलोपटक टी-२० विश्वकपको उपाधि जितेको हो । ऊ यसअघि सन् २०१० मा टी-२० विश्वकपको फाइनलमा पुगेको थियो । त्यसबेला अष्ट्रेलिया उपाधि हात पार्न चुकेको थियो ।

यसपालि भने उसले ऐतिहासिक जितसँगै उपाधि जित्न सफल भयो । उसले टी-२० विश्वकपको फाइनलमा सर्वाधिक ठूलो लक्ष्य पूरा गर्दै उपाधि जित्ने कीर्तिमान पनि बनाएको हो ।

फाइनलमा न्यूजिल्याण्डले दिएको १७३ रनको लक्ष्य अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि मिचेल मार्श र डेविड वार्नरले अर्धशतकीय पारी खेले ।

मार्शले ५० बलमा ६ चौका र ४ छक्काको सहयोगमा अविजित ७७ रन बनाए । वार्नरले ३८ बलमा चार चौका र तीन छक्कासहित ५१ रनको योगदान दिए ।

कप्तान एरोन फिन्च ५ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे । बलिङमा ट्रेन्ट बोल्टले दुई विकेट लिए । बाँकी बलरले विकेट हात पार्न सकेनन् ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनायो । उसका लागि कप्तान केन विलियम्सनले उत्कृष्ट पारी खेले । उनले ४८ बलमा १० चौका र तीन छक्कासहित ८५ रन बनाए ।

त्यस्तै, मार्टिन गुप्टिलले २८, ग्लेन फिलिप्सले १८, जिमी नीशमले अविजित १३, डारियल मिचेलले ११ र टिम साइफर्टले ८ रनको योगदान दिए । बलिङमा जोश हेजलउडले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिए ।

एडम जम्पाले एक विकेट लिँदा स्टार बलर मिचेल स्टार्क महँगा सावित भए । उनले चार ओभरमा बिनाविकेट ६० रन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर