काठमाडौं : अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आएको १ लाख डोज फाइजर खोप कात्तिक २८ गते आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत खाेप लगाइने बताएकाे हाे ।

खोप अभियान मंसिर ४ गतेसम्म चल्ने मन्त्रालयले जनाएकाे छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप दिने कार्यक्रम तय गरिएको जानकारी दिए ।

त्यसका लागि काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको दाहालले जानकारी दिए। उक्त समय यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप दिइने उनले बताए। दाहालले भने, ‘१८ वर्षमाथिका दीर्घरोगी धेरैले यसअघि खोप लगाइसक्नुभएको छ। १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई पुग्छ भन्ने अनुमान गरी खोप दिन लागिएको छ। यो अभियानमा १२ वर्षमाथिका दीर्घ रोगी खोप लगाउन आएमा लगाइने छ।’

कसले पाउँछन् खोप ?
– १२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी
– लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति
– लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी
– जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी
– लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पूर्जा बमोजिम औषधि खाइरहेका बिरामी
– अंग प्रत्यारोपण गरेका व्यक्ति
– लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामी
– कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति
– मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग (जस्तै पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृती आदी) लागेका व्यक्ति

यी हुन् आइतबारबाट खोप लगाइने २४ अस्पताल
वीर अस्पताल
त्रिवि शिक्षण अस्पताल
निजामती सेवा अस्पताल
सहिद गंगालाल हृदय केन्द्र
भक्तपुर क्यान्सर अस्पताल
पाटन अस्पताल
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
वीरेन्द्र सैनिक अस्पताल

उपत्यका बाहिर
मेची अस्पताल
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
जनकपुर अस्पताल
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान
लुम्बिनी प्रादेशिक अस्पताल
भेरी अस्पताल
डडेल्धुरा अस्पताल
कोशी अस्पताल
गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान
नारायणी अस्पताल
धुलिखेल अस्पताल
धवलागिरी अस्पताल
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
कर्णाली प्रादेशिक अस्पताल
सेती अस्पताल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार