चितवन। नेकपा (एमाले)का शिर्ष नेताहरु सौराहामा उपस्थित भएका छन् । पार्टीको दसौं महाधिवेशन अन्तर्गत बन्दसत्र हुने चितवनको पर्यटकीय नगरी सौराहामा आवास लगाएतको विषयमा छलफल उनीहरु व्यस्त भएको बुझिएको छ ।

उद्घाटन हुने नारायणी नदी किनारको अबलोकन पछि नेताहरु पर्यटकीय नगरी सौराहा पुगेका हुन । नेताहरुले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको आवास व्यवस्थापनको विषयमा छलफल तथा बन्दसत्र हुने बाघमारा चौरको अबलोकन गरेको एमाले रत्ननगर नगर कमिटीका अध्यक्ष इश्वरी प्रसाद अर्यालले जनाकारी दिए ।

महाधिबेशनमा देशभरबाट दुई हजार प्रतिनिधि सहभागी हुने छन् । महाधिवेशनमा एमालेले पाँच हजार नेता तथा कार्यकर्ता सहभागी गराउने दावी गरेको छ । यसैबीच नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १० औं महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन्। आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन्। सचिव ज्ञवालीले भने, ‘अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ। केन्द्रीय सदस्यमा धेरै साथीहरू आकांक्षी भएकाले मतदान हुन्छ।’

केन्द्रीय सदस्य र अन्य कुनै एक/दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुंगिने उनको भनाइ थियो। महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले आज केन्द्रीय पदाधिकारी महाधिवेशन उद्घाटन स्थल र बन्द सत्रस्थलसमेत अनुगमन गर्न आएको सचिव ज्ञवालीले जानकारी दिए। महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम कात्तिक २७ गते हुने उल्लेख गर्दै उनले भने, ‘२७ गते देशभरि र प्रवासमा समेत प्रतिनिधि छनोट गरिने छ।’

महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सकिएको सचिव ज्ञवालीले जानकारी दिए। पार्टीभित्र अहिले देखिएका केही समस्या समाधान गरेर अघि बढ्ने चर्चा गर्दै उनले भने, ‘पालिका र जिल्लामा त्यस्तो समस्या छैन। केही साथीको कार्यविभाजनमा असन्तुष्टि रहेको छ। यो समाधान हुँदै जान्छ।’

पार्टी आज एकताको मनोविज्ञान र १० बुँदे पछि जोडिएका साथीहरूको मनोविज्ञानका आधारमा अघि बढ्ने जानकारी दिँदै उनले बताए। ‘१० औं महाधिवेशन अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत अघि बढ्छ,’ ज्ञवालीले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार