भरतपुर : चितवनमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरमा ५ र खैरहनी नगरपालिकामा १ जना गरी थप २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यससँगै चितवनमा सक्रिय संक्रमितको सङ्ख्या ३११ रहेको छ । चितवनमा हालसम्म संक्रमित हुनेको संख्या २६ हजार ७३६ पुगेको छ । २६ हजार ३३ जना निको भएका छन् ।
त्यस्तै चितवनमा पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा मकवानपुरका एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार चितवनका अस्पतालमा हाल २५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । भरतपुर अस्पतालमा १८, चितवन मेडिकल कलेजमा ५, पुरानो मेडिकल कलेजमा दुई जना संक्रमितको उपचार भइरहेको छ । चितवनका विभिन्न अस्पतालमा ३ जना भेन्टिलेटरमा, ११ जना आइसियूमा, १४ जना एचडियुमा उपचाररत रहेका छन् ।

