काठमाडाैं। बागमती प्रदेशसभाको बैठक भाेलि सोमबार दिउँसो तीन बजे बस्दैछ। सोही बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् ।
विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने र भागबण्डा मिलाउन केही मन्त्रालय फुटाउने मुख्यमन्त्री पाण्डेको तयारी रहेकाे बुझिएकाे छ । नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता पाण्डे गएको कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।
सभामुखसहित प्रदेशसभामा १ सय ९ मत छ । गठबन्धनमा रहेका दलहरूसँग ५९ मत रहेकाले पाण्डे नेतृत्वको सरकारले विश्वासको मत सहजै प्राप्त गर्ने देखिन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री पाण्डेले भाेलि विश्वासकाे मत लिने तयारी गरेका हुन्।
स्राेतका अनुसार विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभामा पत्र पठाइ सकिएको छ । मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिएका छन्।

