चितवन : सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिए संगै चितवन सहित २० जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन।

विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ। विवाहमा जाँदा व्यानरसहित दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ। विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने छ।

उक्त अवधिमा अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन चल्न पाउने छैन।

सरकारी कार्यालयलगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने छ। विकास निर्माण कार्यमा चाहिने मजदुर र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा पास लिएर चलाउनुपर्ने छ।

खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसाय बाहेकका व्यवसाय बन्द गरिएको छ। उपत्यकामा खाद्य सामग्री पसल, ग्रोसरी कक्ष बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म चल्न पाइने छ तर तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ।

सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था बीमा र सहकारीलगायत राष्ट्र बैँकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने संस्थामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ।

काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिको अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो। पत्रकारको हकमा सूचना विभाग, पत्रकार महासङ्घ र स्वयं सञ्चार संस्थाले जारी गरेको प्रेस परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ।

यसैबीच सरकारले नेपाल सिमाना जोडिएका छिमेकी मुलुकका नागरिकबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट हुने आवागमन स्थगन गरेको छ। स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय र चिनियाँ नागरिकलाई निजले यात्रा गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घन्टाभित्रको कोभिड–१९ नेगेटिभ तथा १० दिन अनिवार्य रुपमा होटेल क्वारेन्टिनमा बस्ने गरी होटेल बुक गरेको प्रमाण पेश गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ।

हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नागरिकले पनि उक्त मापदण्ड पालना गर्नुपर्नेछ। उनीहरुले १० दिन अनिवार्य होटेल वा होम क्वारेन्टिनममा बस्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार