चितवन: पछिल्लो समय कोरोना भाईरसको प्रभाव बढ्दै गए संगै विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लगाईएको छ । निषेधाज्ञाले जनजीवन कष्टकर समेत बन्न थालेको छ । गृहमन्त्रालयबाट प्राप्त विवरणमा आजसम्म १६ जिल्लामा पूर्ण र चार जिल्लामा आंशिक निषेधाज्ञको घोषणा भएको छ। सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको थियो।
सोही अधिकार प्रयोग गर्दै बाँकेलगायतका केही जिल्लाले यसअघि नै आदेश जारी गरेका थिए भने धेरै जिल्लाले आजबाट लागू हुनेगरी एक हप्ताका लागि अत्यावयक बाहेकका गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेका छन्।
सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधको आदेश जारी गरेको थियो। उक्त आदेश २० गतेसम्म जारी रहने छ। त्यसपछि थप्ने अधिकारसमेत प्रजिअलाई नै रहेको छ। सुर्खेत जिल्लाले वैशाख १४ गतेबाट लागू हुनेगरी आदेश जारी गरेको थियो। आदेश यही वैशाख २१ गते राति १२ बजेसम्म जारी रहने छ।
काठमाडौँ उपत्यकालगायतका ११ जिल्लाले बिहीबार बिहानदेखि लागू हुनेगरी आदेश जारी गरेको छ। कुनै जिल्लाले बिहान ६ बजेदेखि नै लागू गरेका छ भने कुनै जिल्लाले राति १२ बजेबाट आदेश कार्यान्वयनमा लैजाँदै छ।
मन्त्रालयबाट प्राप्त विवरणअनुसार बिहीबार काठमाडौँका तीनै जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर) ले बिहान ६ बजेदेखि नै निषेधाज्ञा जारी गरेको छ। उक्त आदेश यही वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउछन्।
यसरी आदेश जारी गर्ने अन्य जिल्लामा कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान, जाजरकाेट र सुनसरी रहेका छन्। त्यसमध्ये पाल्पा र चितवनमा बिहीबार राति १२ बजेबाट र सल्यानमा १९ गते बिहान ६ बजेबाट आदेश कार्यान्वयनमा जाँदैछ। अन्य जिल्लामा भने अन्य जिल्लामा भने बिहीबार बिहानैदेखि लागू भएको छ।
यस्तै चार जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए। उनका अनुसार कालिकोट, बाग्लुङ, दार्चुला र बर्दियामा आंशिक आदेश जारी भएको छ। कालिकोटमा १० गतेबाट, बाग्लुङमा ७ गतेबाट र बर्दियामा १३ गतेबाटै लागू गरिएको हो।
बाग्लुङको बाग्लुङ नगरपालिका १२, १३, १४ वडा तथा साविक अमलाचौर, पैयूँपाटा र नारायणस्थान क्षेत्रमा लागू गरिएको छ। उक्त क्षेत्रमा यसअघि नै लागू गरिएको थियो। त्यस्तै कालिकोटमा खाँडाचक्र नगरपालिका ११ को रेङ्गिलमा लागू गरिएको छ।
बर्दियाको गुलरिया नगरपालिका–५ र ६ को सम्पूर्ण क्षेत्र, बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर, कतर्निया बजार, मधुवन नगरपालिकाको लाली बजार ओराली बजार, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भूरी गाउँ र ठाकुरद्वारा बजार, राजपुर नगरपालिकाको बजार क्षेत्र, बढैयाताल गाउँपालिकाका बजार क्षेत्र तथा गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञ जारी गरिएको मन्त्रालयले जनाएको छ।

