यूएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगतको एलिमिनेटरमा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंग्लोर खेल्दैछन्।
यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ। क्वालिफायर प्रवेशका लागि शेख जायद क्रिकेट स्टेडियममा हुने खेलमा हैदराबाद र बैंग्लोर जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्।
दुई टिम जित निकाल्दै दोस्रो क्वालिफायर पुग्न चाहन्छ। आजको खेलमा दुवै टोली ‘डु अर डाइ’को अवस्थामा छन्।
यस खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ। र, फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग खेल्नेछ। एलिमिनेटरमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ। त्यसैले हैदराबाद र बैंग्लोरबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ।
डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद तेस्रो स्थानमा रहेर प्लेअफ पुगेको हो। हैदराबादले १४ खेलमा १४ अंक जोडेको थियो।
लिग चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले हराएपछि हैदराबादको प्लेअफ यात्रा तय भएको थियो।
विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोर भने चौंथो स्थानमा रहेर प्लेअफ पुगेको हो। बैग्लोरले समेत लिग चरणमा १४ खेलमा १४ अंक जोडेको थियो।
लिग चरणको अन्तिम खेलमा दिल्लीसँग पराजित भएपछि नेट रन रेटमा भाग्यमानी भन्दै बैंग्लोरले प्ले अफमा स्थान बनाएको थियो।
हैदराबाद र बैंगलोरले लिग चरणमा दुई पटक प्रतिस्पर्धा गरेका छन्। जसमा दुबै टिमले एक एक जित निकालेको थियो।
पहिलो भेटमा बैंग्लोरले हैदराबादलाई १० रनले हराएको थियो। तर, दोस्रो भेटमा हैदराबादले बैंग्लोरलाई ५ विकेटले हराएको थियो।

