यूएईमा जारी १३ औँ सिजन अन्तर्गत आज २ खेल हुदैछन । पहिलो खेल अर्थात सिजनको ४२ औँ खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स (केकेआर) खेल्दै छन् । यी दुई टिमबीचको खेल दिउँसो ३ः४५ बजेदेखि अबुधाबीमा सुरु हुनेछ ।
आईपीएल २०२० मा यो मैदानमा १४ म्याच भएका छन् । जसमा ७ पटक पहिला ब्याटिङ गर्ने टिमले जितेको छ । यो मैदान स्पिनरअनकूल छ ।
जारी सिजनमा दिल्लीले १० म्याच खेल्दा ७ खेलमा जित हासिल गरेको छ । र, दिल्ली तालिकामा १४ अंकका साथ शीर्ष स्थानमा छ ।
केकेआरले १० खेलमा पाँचमा जित र पाँच खेलमा हार ब्यहोरेको छ । केकेआर तालिकाको चौथो स्थानमा छ । आईपीएल इतिहासमा केकेआर र दिल्लीबीच २६ पटक भेट भएको छ । जसमा केकेआर १३ र दिल्ली १२ पटक विजयी भएको छ ।
जारी सिजनमा दिल्ली राम्रो लयमा देखिएको छ । उसले १० म्याचमध्ये ७ खेलमा जित हासिल गरेको छ । र, उसले तालिकामा १४ अंक जोडिसकेको छ । यदि दिल्ली आज विजयी भए ‘प्लेअफ’को यात्रा पक्का गर्नेछ ।
केकेआरले १० खेलमा पाँचमा हार र पाँच खेलमा जित हासिल गरेको छ । उसले तालिकामा १० अंक जोडेको छ । केकेआरका लागि आजको खेल निकै महत्वपूर्ण छ ।
आजै हुने दोस्रो खेलमा सनराइजर्स हैदराबाद र किंग्स इलावेन पञ्जाब खेल्दै छन् । यी दुई टिमबीचको खेल साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ । अंकतालिकामा हैदरावाद पाँचौ तथा पंजाव छैठौं स्थानमा छन् । उनीहरुको समान ८/८ अंक रहेको छ ।
दिल्ली विरुद्ध केकेआरको खेलमा आज सन्दीप लामिछानेले मैदान पाउने चर्चा समेत चल्न थालेको छ ।
दिल्लीमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछाने लगातार १० म्याचसम्म माैका पाउन सकेका छैनन् । दिल्लीले लगातार राम्रो प्रदर्शन गर्नु, भारतीय स्पिनरको सन्तोषजनक बलिङ, विदेशी कोटाबाट खेलेका खेलाडीले आशातित प्रतिफल दिनुलगायत कारणले सन्दीपले प्लेइङ-११ मा स्थान पाउन सकेका छैनन् ।
दिल्लीले १० म्याच खेल्दा मार्कस स्टोइनिस, कागिसो रबाडा, शिमरोन हेटमायर, एनरिक नोर्टजे, एलेक्स क्यारी, डानियल साम्सलाई मौका दिइसकेको छ । रबाडा र स्टोइनिसले दिल्लीले खेलेको १० म्याचमै मौका पाएका छन् ।
विदेशी खेलाडीको रूपमा अब दिल्लीको बेन्चमा अलराउन्डर किमो पउल र स्पिनर लामिछाने मात्र सीमित छन् । किमो स्टोइनिसको कारण छायामा छन् । स्टोइनिसले सन्तोषजनक प्रदर्शन गर्दा अहिलेसम्म दिल्लीले किमोको प्रयोग गरेको छैन् ।
सन्दीप भने रविचन्द्रन आश्विन र अक्क्षर पटेलका कारण लगातार बेन्चमा बसिररहेका छन् । साथै, दिल्लीसँग जोडिएका भारतीय फास्ट बलरको प्रदर्शन कमजोर हुँदा पनि सन्दीपले संर्घष गर्नु परिरहेको छ ।
भारतीय तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा दिल्लीले विदेशी कोटाबाट दुई फास्ट बलरलाई खेलाउनु परेको छ । जसकारण पनि सन्दीप प्लेइङ-११ को हिस्सा बन्न सकेका छैनन् ।
अघिल्लो खेलमा किंग्स इलावेन पञ्जाबविरुद्ध हार ब्यहोरेकाले केकेआरविरुद्ध दिल्लीले प्लेइङ-११ मा केही परिवर्तन गर्ने सम्भावना छ । डानियल साम्स आफ्नो पहिलो म्याचमा विकेटहीन रहे । उनले आफ्नो डेब्यू म्याचमा चार ओभरमा विनाविकेट ३३ रन खर्चिएका थिए ।
दिल्लीले साम्सलाई अब दोहोर्याउने सम्भावना कम छ । दिल्लीले उनको स्थानमा एनरिक नोर्टजे, किमो पउल वा स्पिनर सन्दीप लामिछानेमध्ये एकलाई मैदान उतार्ने सम्भावना छ ।
पछिल्लो दिनमा पिच स्पिनरअनुकूल भइरहेकाले दिल्लीले ११ औँ म्याचमा सन्दीपमाथि विश्वास गर्न सक्छ । सुरुवातका खेलमा राम्रो प्रदर्शन गरे पनि पछिल्ला म्याचमा मार्कस स्टोइनिसको ब्याट पनि चल्न सकेको छैन् ।
लगातार १० म्याच खेलेका स्टोइनिसलाई ११ औँ खेलमा आराम मिल्ने सम्भावना पनि छ । यसो हुँदा उनको स्थानमा अलराउन्डर किमो पउलले मौका पाउन सक्छन् ।
पञ्जाबविरुद्ध फास्ट बलर तुषार देशपाण्डे महँगा सावित भए । उनले २ ओभरमा विनाविकेट ४१ रन खर्चिदा दिल्लीमाथि पञ्जाबले सजिलै जित हात पार्न सफल भयो ।

