यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज किंग्स इलावेन पञ्जाब र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि शारजाहमा सुरु हुनेछ ।
जारी सिजनमा आरसीबी राम्रो लयमा देखिएको छ । उसले सात म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हारको सामना गरेको छ । आरसीबी १० अंकका साथ तालिकामा तेस्रो स्थानमा छ ।
यता पञ्चाब भने धेरै म्याचमा जित नजिक पुग्दा पनि लगातार पराजय ब्यहोरिरहेको छ । उसले सात खेलमध्ये एक म्याचमा मात्र जित हासिल गरेको छ ।
पञ्जाबले आरसीबीविरुद्ध नै जित हासिल गरेको थियो । पञ्जाब दुई अंकका साथ तालिकाको पुछारमा छ ।
पञ्जाबमा यो सिजनमा केएल राहुल कप्तान छन् । व्यक्तिगत रूपमा उनको प्रदर्शन शानदार रहे पनि टिमले भने लगातार पराजय ब्यहोरिरहेको छ । आरसीबीमा भने यो पटक पनि विराट कोहली नै कप्तान छन् ।
सुरुवातका केही म्याचमा सस्तैमा आउट भए उनी पछिल्ला खेलमा लयमा देखिएका छन् । शारजाहको मैदानमा अन्य स्टेडियमको तुलनामा बढी रन बनिरहेको छ ।
यो मैदानमा केही म्याचमा दुई सय बढी रन पनि बनेको छ । तर, पछिल्लो केही म्याचमा यो मैदानमा पनि हाइस्कोरिङ म्याच देख्न पाइएको छैन । यद्यपि आज दुबै टिममा विस्फोटक ब्याट्सम्यान भएकाले चौका/छक्काको वर्षा देख्न पाइने छ ।
जारी संस्करणमा शारजाहमा ६ म्याच भएका छन् । जसमा पाँच पटक पहिला ब्याटिङ गर्ने टिमले जित हासिल गरेको छ ।
हालसम्म आईपीएलमा पञ्जाब र आरसीबीबीच २४ म्याच भएको छ । जसमा पञ्जाबले १४ र आरसीबीले ११ म्याच जितेको छ ।

