चितवन, २३ पुस ।
‘रत्ननगर महोत्सव हाम्रो पहिचान व्यवसायिक कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ पुस २५ देखि माघ ७ गतेसम्म चितवनको गौरव र गरिमामय प्रस्तुतिको रुपमा रत्ननगर महोत्सवको आयोजना गरिएको छ । आगामी पुस २५ गतेदेखि पूर्वीचितवनको टिकौली चौरमा सञ्चालन हुने रत्ननगर महोत्सव २०७६ को तयारी पूरा भएको छ ।महोत्सव स्थल टिकौली चौरमा आज पत्रकार सम्मेलन गर्दै आयोजक रत्ननगर उद्योग वाणिज्य संघले महोत्सवको तयारी पूरा भएको जनाएको हो । चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवद्र्धन गर्दै चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र सम्वद्र्धनमा रत्ननगर महोत्सवले विशिष्ट र दुरगामी महत्व बोकेको मूल संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बताए । प्रत्येक दुई वर्षमा आयोजना गरिने महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको रेग्मीले बताए । उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सवको उद्घाटन गर्ने जनाइएको छ ।

