१८ कार्तिक २०७६,
नेकपा नेतृत्वको सरकारले ७ वटै प्रदेशका प्रमुख हरुलाई पदमुक्त गरेको छ । हिजो आइतबार बसेको बैठकमा यस्तो निर्णय भएको हो । प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारमा भएका बेला प्रदेश प्रमुख नियुक्त गरिएको भए पनि तत्कालिन समयमा नेकपा बाट चर्को बिरोध भएको थियो । सरकार परिवर्तन भएर नेकपाको सरकार आए लगत्तै उनीहरुलाई पदमुक्त गर्न खोजिए पनि नेपाली कांग्रेसको चर्को बिरोधका कारण यो सम्भव भएको थिएन । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भने नेपाली कांग्रेसको निर्णय उल्टाउन सफल भएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेर पदमुक्तका लागि राष्ट्रपतिकहाँ पठाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तत्कालिन नेपाली कांग्रेसको सरकारले प्रदेश १ मा गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेशवर लाल (कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गा केशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ललाई प्रदेश प्रमुखको रुपमा नियुक्ति गरेको थियो । आफ्नो निर्णय उल्टाइएकोमा शेर बहादुर देउवा रुस्ट भएको बुझिएको छ ।

