२३ आश्विन २०७६,
चित्रवन अनलाईन न्युज डेक्स
चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् ।
(यसै सम्बन्धि समाचार)
चिनियाँ राष्ट्रपति सी जिङ्फिङको स्वागतका लागि भइरहेको तयारीलाई बिथोल्ने गतिविधी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई नियन्त्रणमा लिएको छ। नयाँ बानेश्वर क्षेत्रमा सीको स्वागतका लागि टाँगिएका ब्यानर च्यातेपछि प्रहरीले पछिल्लो २४ घन्टामा दुई जनालाई पक्रेको जनाएको छ । पक्राउ परेका दुई जनामाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ। उनीहरूको ठेगना र परिचय दिइएको छैन प्रहरीले यसअघि पनि काठमाडौंको बौद्ध र ललितपुरको जावलाखेलबाट सीको स्वागतका लागि भइरहेको तयारीलाई विथोल्न खोज्ने पाँच जना तिब्बती शरणार्थी र एक जना नेपालीलाई पक्राउ गरी सोधपुछ गरेको छाडेको थियो । नेपाल प्रहरीको बौद्ध वृत्तका डीएसपी रमेशकुमार सिंहले तिब्बती शरणार्थीहरुका गतिविधिमाथि कडा निगरानी राखिएको बताए। विभिन्न मिति र स्थानबाट पक्राउ परेका तिब्बतीहरुले उस्तै नारा र लोगो भएका टिसर्ट, झोला र ज्याकेटको प्रयोग गरेका प्रहरीले जनाएको छ । सीको भ्रमणको समय नजिक हुँदै गर्दा तिब्बती शरणार्थीहरुमाथि पनि नेपाल प्रहरीले थप निगरानी बढाएको छ । सीको सुरक्षाका लागि चार घेराको सुरक्षा प्रबन्ध गरिएको छ । जसमा सबैभन्दा अगाडि सेना र त्यसपछि क्रमैसँग सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचरको टोली रहने प्रहरीले जनाएको छ।

