चितवन ५ बैशाख । पवित्र तीर्थस्थल देवघाट धाममा अन्त्येष्टि गरिने शवसँगै हुने फोहर नारायणी नदीमा फाल्न रोक लगाइएको छ । हरेक दिन आठ वटा शव अन्त्येष्टिका लागि देवघाट ल्याइने गरिन्छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार शवदाह गरेपछि मृतकले प्रयोग गरेका कपडा, औषधि,गुन्द्री, किरिया पुत्रीले फालेको कपाल, ब्लेड, पानीका बोतल, शव ल्याउन प्रयोग गरिएका बाँसलगायत सामाग्री नदीमा नफाल्न र निर्धा्रित स्थानमा सार्वजनिक रुपमा माइकिङ गर्न थालिएको छ । तोकेर ती फोहर राख्न माइकिङमार्फत सूचना गर्न थालिएको छ ।

उहाँले ती स्थानमा फोहर सङ्कलनका लागि भरतपुर महानगरपालिकासँग कन्टेनर माग गरिएको बताउनुभयो । सङ्कलित फोहरलाई हरेक हप्ता महानगरपालिकाको फोहर सङ्कलन गर्ने गाडीले लैजाने गरेको छ । उक्त समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार माइकिङ गरेसँगै फोहर नदीमा फाल्न रोकेर सङ्कलन गर्न थालिएको छ ।

शव पोलेपछि खरानी नदीमा बगाउन मोटरमार्फत पानीको फोहोरा प्रयोग गर्नका लागि तयारीसमेत शुरु गरिएको उहाँले बताउनुभयो । घिमिरेका अनुसार अहिले अलकत्राका ड्रम काटेर ठाउँठाउँमा फोहर सङ्कलन गर्न थालएिको छ । सो स्थानमा चितवन, नवलपरासी, तनहुँसहित रुपन्देही, कपिलवस्तु, मकवानपुर, धादिङ लगायत जिल्लाबाट शव ल्याइने गरिन्छ ।

वैशाख महिनामा मात्र १९७ वटा शवको अन्त्येष्टि गरिएको उहाँले बताउनुभयो । समितिले अन्त्येष्टिका लागि आवश्यक दाउरा र अन्य सामग्री बिक्रीको प्रबन्ध गरेको छ । समितिको दाहसंस्कार व्यवस्थापन उपसमितिका संयोजक पोषण सुवेदीले नदीमा फोहर बग्दा वातावरणीय प्रभावसँगै नदी आसपासका क्षेत्रमा दुर्गन्ध फैलिने भएकाले सबैलाई फोहर सम्बन्धित ठाउँमा व्यवस्थापन गर्न माइकिङबाटै सूचना गरिएको बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार