
काठमाडौ ३० बैशाख । पूर्वबजेटका विषयमा संसदमा छलफल जारी रहेको छ । सांसद्हरुले रणनीतिक पूर्वाधारका योजनासँगै रोजगारी र उत्पादन वृद्धिमा बजेट केन्द्रित गर्न सुझाव दिएका छन । हिजोबाट सुरु भएको छलफल आज पनि जारी रहनेछ । हिजो पूर्व अर्थमन्त्रीहरूसहित सांसदले सुझाव दिएका थिए । सांसदहरुले तीनै तहबीच समन्वय हुनेगरि कार्यान्वयन खालको बजेट ल्याउन सुझाव दिएका छन् । पहुँचवालाको क्षेत्रमा मात्रै बजेट जाने कुरालाई सांसदहरुले सचेत गराएका छन् । संसदमा धारणा राख्ने अधिकांश सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र र जिल्लालाई प्राथामिकतामा राखेर बजेट ल्याउन सरकारसँग माग गरेका छन् । सत्ता पक्षका सांसदहरूले सरकारको बचाउ गर्दै आफ्नो क्षेत्रमा बजेट माग गरीरहेका छन् । विपक्षी सांसदले भने आलोचनात्मक रूपमा विचार राख्दै आएका छन् । सडक, विजुली, पिउने पानी, किसान र कृषि उत्पादनलाई प्राथामिकतामा राखेर बजेट ल्याउनुपर्ने सुझाव सांसदहरूको छ । यसअघि बजेटमा हुने गरेको अनियमितता र योजना विहीनताको अवस्था अन्त्य गरिनुपर्नेमा पनि उनीहरूको जोड छ । आज पनि सांसदहरुले बजेटको छलफलमा भाग लिन नाम लेखाएका छन् । संसदको बैठक बिहान ११ बजे बोलाइएको छ । संसदमा भएको छलफलमा आएका सुझावलाई आत्मसात गर्दै बजेट ल्याउने अर्थमन्त्री युवराज खतिवडाको आश्वासन छ । संविधान अनुसार सरकारले आउँदो जेठ १५ गते आर्थिक वर्ष २०७६÷७७ को बजेट सार्वजनिक गर्नेछ ।

