रत्ननगर । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल(सेवा नेपाल)ले १३ बुँदे भावि कार्ययोजना र १४ बुँदे दीर्घकालिन कार्ययोजना सार्वजनिक गरेको छ ।

शुक्रबार नवलपरासीको गैंडाकोटमा सम्पन्न सो संस्थाको चौथो बार्षिक साधारण सभामा प्रस्तुत गरिएको भावी तथा दीर्घकालिन कार्ययोजना सर्वसम्मत पारित समेत भएको छ । सेवा नेपालकी अध्यक्ष टीकाकुमारी अधिकारीको अध्यक्षतामा भएको साधारण सभा हेफर इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक कृष्ण कट्टेलले उद्घाटन गरेका थिए ।

साधारण सभामा प्रस्तुत गरिएको दीर्घकालिन कार्ययोजनामा प्रारम्भिक सहकारीहरुको संस्थागत विकास र क्षमता विकास, सहकारीहरुको सुशासन र आर्थिक पारदर्शिताका लागि सहजिकरण गर्ने, संस्थालाई सहकारीको सुशासन, वित्तिय व्यवस्थापन र संस्थागत विकासको श्रोतकेन्द्रको रुपमा विकास गर्दै लैजाने, कृषि उपजहरुको प्रशोधन, प्याकेजिङ्ग, ब्रान्डिङ्ग गरी बजारिकरण गर्ने, प्रदेश स्तरीय संजालको कार्यालय स्थापना गर्ने, ७ वटै प्रदेशमा कार्यक्षेत्र विस्तार गर्ने, १००० महिला उद्यमी सहकारीलाई सेवामा आबद्ध गराउने र शेयर सदस्य संख्या १५ लाख पुर्‍याउने उल्लेख गरिएको छ ।

त्यसैगरी सेवा नेपालमा आवद्ध सहकारी संस्थाको कुल पूंजी कम्तीमा १ खर्ब ५० अर्ब पु¥याउने, राष्ट्रिय सामाजिक उद्यमी महिला बैंक स्थापना गर्न सहजीकरण गर्ने, सहकारी विश्व विद्यालय स्थापना तथा संचालनमा सहजीकरण गर्ने, राष्ट्रिय स्तरको दुग्ध उद्योग, कृषि तथा पशुउपज प्रशोधन उद्योग, बेसार मसला उद्योग स्थापना तथा बजारीकरणमा सहयोग गर्ने, उत्पादित बस्तुको बजारीकरणको लागि केन्द्रिय, क्षेत्रीय र स्थानीय बजारमा संकलन केन्द्र स्थापना गर्ने, मुल्यमा आधारित सर्वागिण सामुदायिक विकास र सामाजिक सदभाव बृद्धि गदै सामाजिक पूजी निर्माण गर्ने, श्रोत सहयोगका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैरसरकारी संघ, संस्था, दातृ निकाय र नागरिक समाजसंग श्रोत सहयोगका लागि समन्वय गर्ने गरी दीर्घकालिन कार्ययोजना बनाइएको छ ।

साधारण सभाले पारित गरेको संस्थागत भावी कार्ययोजनामा सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल) को आफ्नो स्रोत केन्द्र को दोश्रो तला भबनको फर्नीसीङ कार्य सम्पन्न गर्ने र तेश्रो तलाको निर्माण कार्य सुरु गर्ने, ७२ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थाहरु सेवा नेपालमा आबद्धता गरी ३०० सदस्य पु¥याइने, सेवा नेपाल र प्रारम्भिक सहकारीको समन्वयमा सदस्य संस्थाहरुमा तीनै तहका सरकारहरुबाट रु १० करोड बराबरको अनुदान ल्याउन पहल गर्ने, २८० वटा सहकारीहरुमा संस्थागत विकासको क्षेत्रमा सहजीकरण गर्ने, संस्थाको स्रोत केन्द्र तथा कोशेली घर सञ्चालन तथा व्यवस्थापन गर्ने, नीतिगत सवालमा अन्तरक्रिय, सेवाका सदस्य सहकारीहरु सवैलाई एकै पटक संचार गर्न मिल्ने आवश्यक सुचना प्रविधि (सामाजिक संजाल) को व्यवस्था गरी सुचना प्रवाह गर्ने उल्लेख छ ।

कार्यक्रममा संस्थाकी अध्यक्ष अधिकारीले बार्षिक तीति तथा कार्यक्रम, सचिव शैलजा घिमिरेले प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना, कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा सेवा नेपालकी संस्थापक अध्यक्ष पार्वती न्यौपानेले एक हजार महिलालाई उद्यमी बनाउने गरी सेवा नेपालले उत्पादन र बजारीकरणमा जोड दिएको बताइन् । आर्थिक चपेटामा परेका महिलाहरुलाई सहकारीमा आबद्ध गरी उद्यमशिलता मार्फत जीवन स्तर उकास्ने योजनाका साथ सेवा नेपालले काम गरिरहेको उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका हेफर इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक कट्टेलले समुह र सहकारी मार्फत महिलाहरुलाई आर्थिक सशक्तिकरण र जीवन स्तर उकास्ने उद्देश्यका साथ हेफरले उद्यमी सहकारीहरुलाई सहयोग गरिरहेको बताए । सचिव शैलजा घिमिरे पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाकी उपाध्यक्ष गोमा अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक तथा सहकारी विकास प्रमुख रिजन ओझा, सामाजिक उद्यमी महिला सञ्जाल चितवनकी अध्यक्ष निर्मला दंगाल, नवलपरासी जिल्ला अध्यक्ष धर्मा न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

सेवा नेपालमा ६ वटा प्रदेशका २२८ सामाजिक उद्यमी महिला सहकारी आबद्ध रहेका छन् । ४३ जिल्लाका ४ लाख २५ हजार उद्यमी महिलाहरुको हितका लागि सेवा नेपालले काम गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार