रत्ननगरको राजमार्ग वरपर बृहत् सरसफाइ

रत्ननगर । ‘सुन्दर, स्वच्छ र सफा नगर : हाम्रो रत्ननगर’ भन्ने मूल नाराका साथ पूर्वी चितवन स्पोट्र्स क्लब रत्ननगर–३ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ । पूर्वी चितवन स्पोट्र्स क्लबका अध्यक्ष सुरज न्यौपानेको अध्यक्षता एवम् रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रम क्लबका संरक्षक केवल न्यौपानेको संयोजकत्वमा भएको थियो । नगरप्रमुख प्रलाद सापकोटाले हरेक महिनाको एकपटक राजमार्गवरपर बृहत् सरसफाइ कार्यक्रम गर्ने गरी अभियान सञ्चालन गर्न लागेको बताए । रत्ननगर नगरपालिकालाई सफा, सुन्दर र हराभरा बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।

२०८१ मा रत्ननगर नगरपालिका सरसफाइमा देशकै पहिलो पालिका बन्न सफल भएको भन्दै नगरप्रमुख सापकोटाले सबै नगरवासीले आआफ्नो जिम्मेवारी ठानेर घरअगाडिको फोहोर आफैँले सफाइ गर्न आग्रह गरे । उनले व्यवसाय गर्नेहरुलाई पनि फोहोरको उचित व्यवस्थापन गर्नसमेत निर्देशन दिए । नगरउपप्रमुख यादवप्रसाद पाठकले विशेष गरी राजमार्गमा मानिसको चहलपहल बढी हुने भएकाले फोहोर हुने गरेकोले नियमितरुपमा फोहर गर्न हुँदैन भन्ने सन्देश दिनका लागि पूर्वी चितवन स्पोट्र्स क्लबसँग मिलेर नगरपालिकाले सरसफाइ गरेको बताए । उनले रत्ननगर उद्योग वाणिज्य संघसँग छलफल गरी व्यवसायीलाई अनिवार्य डस्टबिन राख्न लगाउने योजना रहेको बताए ।

कार्यक्रममा रत्ननगर–३ का सोहेन्द्रराज खरेल, रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापा, रत्ननगर–१४ का वडा सदस्य धीरेन्द्र घिमिरे, सामाजिक अभियन्ता ज्ञानेन्द्र पाण्डे, रत्ननगर खानेपानी उपभोक्ता संस्थाका सचिव प्रताप डल्लाकोटी, युवा नेता दीपक पौडेल, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, स्काउट विद्यार्थी, खेलकुदप्रेमी, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो । रत्ननगर–९, टिकौलीस्थित कृष्ण मन्दिरबाट सुरू भएको कार्यक्रम पूर्व–पश्चिम राजमार्गको दुईतर्फ सरसफाइ गरी रत्ननगर नगरपालिकामा आएर समापन गरिएको क्लबका सचिव महेश पाण्डेले जानकारी दिए ।

सरसफाइका क्रममा कृष्णप्रणामी युवा परिषद् नेपालले त्रिनेत्र पेट्रोलअगाडि राजमार्गमा ‘बिस्तारै हाक्नुहोस्’ चेतनामूलक सन्देश लेखिएको ड्रम राखेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगर र ट्राफिक प्रहरीले आवश्यक समन्वय गरेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.