रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १ सौराहाचोक निवासी सरला शर्माको पहिलो कृति “उसैले जन्माएको छोरो” लघुकथा संग्रह सार्वजनिक भएको छ । शनिबार आयोजित कार्यक्रममा कवि तथा साहित्यकारहरु रामबाबु घिमिरे, एलबी क्षेत्री, प्रेम रिमाल, भूपिन खड्का, सामना पहाड र पूर्ण रिजालले कृति सार्वजनिक गरेका हुन् ।

भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको पुस्तकमा ५९ वटा लघुकथा छन् । कथासंग्रहमा नेपाली समाजको चित्रण, वैदेशिक रोजगारीको पीडा, नारी बेदना, विभेद, सामाजिक विकृति, जीवबस्तु प्रतिको प्रेम लगायतलाई उतारिएको छ । कृतिमाथि बोल्दै कवि तथा निबन्धकार भूपिन खड्काले शर्माको कथा संग्रहहरू छोटोमा पढ्न सकिने र जीवनभर तरङ्गित गरिरहने खालका भएको बताए । नारी वेदनालाई एैना जस्तै गरी देखाइएको छ उनले भने समाज र विभेदलाई संग्रहमा उत्तारिएको छ । त्यसैगरी साहित्यकार सामना पहाडले संग्रहमा मातृवात्सल्यका कथाहरू धेरै भएको बताइन् । कथाकार गृहिणी हुनुहुन्छ उनले भनिन् परिवारदेखि सरकारसम्मका कथाहरू संग्रहमा जोडिएका छन् । कथामा प्रकृति छ, पर्यावरण छ, कुशासन छ, पहाडले भनिन् गृहिणी र गैरगृहिणीका कथाव्यथाले कथाको बनोट बनाएको छ । कथाहरू चोटिला छन् ।

त्यसैगरी प्रेम रिमालले कथामार्फत कथाकार सरला शर्माको उपस्थिति आमाको रूपमा भएको बताए । आमाहरू आफैंमा सुन्दर कविता हुन् उनले भने आमाको चरित्र, आमाको चित्रण कथामा झल्किन्छ । सामाजिक जीवनका भोगाईलाई छोटो गरी संग्रहमा उल्लेख गरिएको भन्दै उनले वैदेशिक रोजगारीले नेपाली समाजलाई लागेको विषयलाई उजागर गरिएको छ । त्यसैगरी कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले कथाको संरचना र बनोटका बारेमा चर्चा गरे । क्षेत्रीले संग्रहका कथाहरु पठनीय भएको बताए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर बाङमय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले सरला शर्मा गृहिणी हुँदाहुदै पनि समय व्यवस्थापन गरेर कथा लेखनमा आउनु महत्वपूर्ण उपलब्धि भएको बताए । कार्यक्रमलाई सुमन घिमिरेले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार