रत्ननगरकी लक्ष्मीको दु:खमा समाजको साथ : उपचार र खाद्यान्न सहयोग

रत्ननगर, जेठ १५ ।
रत्ननगर वडा नं ९ स्थित दोभान सुकुमबासी बस्तीमा बस्दै आएकी लक्ष्मी महतोलाई स्थानीय समाजसेवी, व्यवसायी र जनप्रतिनिधिहरूले उपचार र खाद्यान्न सहयोग गरेर मानवीयताको उदाहरण प्रस्तुत गरेका छन्। दुर्घटनामा एउटै खुट्टा तीन ठाउँमा भाँचिएर आर्थिक संकटमा परेकी लक्ष्मीलाई अस्पतालबाट डिस्चार्ज गर्न र घरमा खाद्यान्नको जोहो गर्न समुदाय एकजुट भएको छ।

लक्ष्मीको उपचारका लागि स्थानीय रामजी चौधरीले ऋण खोजेर एक लाख १५ हजार रुपैयाँ अस्पताललाई बुझाएर उनलाई डिस्चार्ज गर्न सहयोग गरे। समाजसेवी युगबहादुर थापाको पहल र विदेश भ्रमणमा रहेका रत्ननगरका मेयर प्रलाद सापकोटाको समन्वयमा यो कार्य सम्भव भएको हो। यद्यपि, अस्पतालमा अझै एक लाख दुई हजार रुपैयाँ तिर्न बाँकी छ, जुन लक्ष्मीको परिवारको कमजोर आर्थिक अवस्थाले तिर्न नसक्ने देखिन्छ।

अस्पतालबाट घर फर्किएपछि लक्ष्मीको परिवारलाई खाद्यान्नको अभावले थप संकट सिर्जना भएको थियो। यो कारुणिक अवस्था देख्न नसकेर समाजसेवी थापाको पहलमा टाँडीका व्यवसायी र स्थानीयबाट खाद्यान्न संकलन गरी हस्तान्तरण गरिएको छ। यो कार्यमा पत्रकार होमनाथ सापकोटा र रामु आचार्यले पनि साथ दिएका थिए।

सहयोगस्वरूप वडा नं १० का वडाध्यक्ष कलाधर पौडेलको पहलमा रत्ननगर नगरपालिकाबाट पंखा, वालजी ट्रेडर्सबाट दुई बोरा चामल र ५ लिटर तेल, ओमप्रकाश शाह कलवारकी छोरी मुस्कान कुमारी शाह कलवारको जन्मदिनको अवसरमा एक बोरा चामल र ५ किलो चिउरा, तथा मैनाली इन्टरप्राइजेजबाट ५ किलो मुसुरोको दाल, ३ किलो मासको दाल, ५ किलो आलु, ५ किलो नुन र एक किलो सोयाबिन प्रदान गरिएको छ। यो सहयोगले लक्ष्मीको परिवारलाई तत्काल राहत मिलेको छ। समाजसेवी थापाले यस्ता कार्यले सामाजिक एकता र मानवीय संवेदनालाई जीवित राख्ने बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.