रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । सरकारी अभियान अन्तर्गत सो नगरमा मंगलबारदेखि बालवालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउन सुरु गरिएको हो । ३० गते सम्म चल्ने सो अभियान अन्तर्गत नगर भित्रका नौं महिना माथि र १५ बर्ष मुनीका २५ हजार ७०० बालवालिकालाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख माधबप्रसाद पौडेलले जानकारी दिए । नेपाल माविमा आयोजित एक औपचारिक कार्यक्रमका बीच रत्ननगरमा मेयर प्रलाद सापकोटाले खोप अभियानको उद्घाटन गरेका हुन । सो अबसरमा उनले नगरभित्रका कुनैपनि बालवालिका खोपबाट बन्चित हुन नहुने भन्दै सर्तक भएर अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।
नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार चनाखो रहेको भन्दै उनले स्वास्थ्य बिमामा अनुदान, उपचारकोष स्थापना तथा अस्पतालहरुमा छुट सम्बन्धी सम्झौता गरिएको बताए । बालबालिकालाई खोप लगाउन रत्ननगरमा ४६ स्कुल, १६ वटा स्वास्थ्य संस्था गरी ६२ वटा खोप केन्द्र स्थापना गरिएको छ । त्यसका लागि २२० स्वास्थ्यकर्मी र ३३० जना स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए । वडा नं २ का वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल सहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

