
काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि खेलमा नेपाल पराजित भएको छ । हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले मध्यम स्कोर खडा गर्दा २ विकेटको हार व्यहोरेको हो । पहिले व्याटिङ गरेको नेपालले पछिल्लो क्रमका व्याट्स्म्यानको उत्कृष्ठ प्रदर्शनमा २६८ रन बनाएको थियो । २६९ को विजय लक्ष्य पच्छाएको आयरल्याण्डले ४ बल बाकि छदै ८ विकेट गुमाउदै लक्ष्य हासिल गर्यो ।
नेपालका लागी गुलसन झाले ४२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, कप्तान रोहित पौडेलले २९ तथा भीम सार्कीले २० रन बनाए । आठौं विकेटका सन्दीप लामिछाने र गुलशन झाले ८० रनको कीर्तिमानी साझेदारी गरेका थिए । ओडिआईमा नेपालका लागि आठौं नम्बरको लागि भएको यो सबैभन्दा ठूलो साझेदारी हो ।
आयरल्याण्डलाई जित दिलाउन कुर्टिस क्यामफेर र ह्यारी टेक्टरले अर्धशतकीय ईनिङ खेले । क्यामफेरले ५९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ६२ रन बनाए । टेक्टरले ७६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ६० रन बनाए । जर्ज डकरेलले ३३ तथा लुर्केन टुकेरले २४ रन बनाए ।
बलिङ तर्फ नेपालका लागि करण केसीले ४ तथा किशोर महतोले २ विकेट लिए । गुलसन झा र सन्दीप लामिछानेले समान १/१ विकेट लिए । त्यस्तै बलिङ तर्फ आयरल्याण्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २/२ तथा एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १/१ विकेट लिए ।
जितसँगै आयरल्यान्डले विश्वकप छनोट खेलको सातौं स्थान हासिल गरेको छ । पराजित नेपालले प्रतियोगितामा आठौं स्थान हासिल गरेको छ ।