पोखरा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यलाई थप महत्वका साथ तीव्रता दिइने बताएका छन् । उनले विकासको वाधकका रुपमा रहेको भ्रष्टाचारलाई शून्यमा झार्नेगरी काम गरिने बताए । शनिबार (आज) दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचार देशको विकराल समस्या हो, त्यसैले यसको निराकरणका लागि अनुसन्धानको दायरा थप फराकिलो बनाइन्छ ।’ ‘भ्रष्टाचार देशको विकराल समस्या हो। नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ,’ उनले भने, ‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ। प्रहरीलाई सरकारले आवश्यक निर्देशन दिइरहेको छ र भ्रष्टाचारविरुद्धको यो अभियानलाई सुरक्षा निकायलाई सरकारको सहयोग रहन्छ, कतैबाट पनि हस्तक्षेप हुन दिइँदैन ।’
प्रचण्डले अर्थतन्त्र पनि विस्तारै लयमा फर्किरहेको बताउँदै भने, ‘अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो तर, अर्थतन्त्र विस्तारै लयमा फर्किएको छ। यसपटकको भारत भ्रमण ऐतिहासिक भएको छ,’ उनले भने, ‘राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन्। भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो। यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्।’
उनले भ्रमणको पनि तयारी भइरहेको जानकारी दिए । राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको छु। छिट्टै चीन भ्रमण हुँदैछ, त्यसको तयारी भएको छ। त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुन्छ,’ उनले भने।