३ मङ्सिर, चितवन ।
अव आउने निर्वाचनमा केपी ओलीको पार्टीले एक सीट पनि नजित्ने माधव कुमार नेपालले बताएका छन् ।
शुक्रबार चिवतनमा आफ्ना पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिनेक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

उनले अघिल्लो पटक राष्ट्रिय सभा उपनिर्वाचनबाट देखिएको परिणामले उक्त कुरालाई पुष्टि गरीसकेको बताएका हुन् । अव केही समयपछि रिक्त रहेका राष्ट्रिय सभाका वीस भन्दा बढी सिटमा हुने निर्वाचनमा पनि आफ्नै गठवन्धनले जित हासिल गर्ने उनको दावी थियो । उनले भने,“करिव २० सिटमा राष्ट्रियसभाको चुनाव हुँदैछ । त्यसमा हामीले निश्चित रुपमा जित्नेछौँ । ओलीको पार्टीले एक सिट पनि जित्नेछैन । ”

प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालले पाँच दलिय गठवन्धन हचुवाको भरमा नबनाइएको र यसले लामो समयसम्म निरन्तरता पाइरहने बताए । गठवन्धनकै कारण आगामी चुनावमा केपी ओलीको पार्टीलाई धुलो बनाउने बताउँदै नेता नेपालले भने,“केपी ओलीको पार्टी चुनावमा धुलो हुनेछ । हाम्रो पार्टी विजयी हुनेछ । ”

आफूहरुले कम्युनिष्टको मूलधारका रुपमा बनाउन सफल भएको एमाले पार्टीलाई केपी ओलीको नेतृत्व आएपछि वेथिति भित्राएर पार्टीलाई तहसनहस बनाएका कारण आफूहरुले सुधार्न नसक्ने भएपछि पार्टीबाट विद्रोह गर्नुपरेको उनको भनाई थियो । उनले भने,“केपी ओलीले वेथिति भित्राए । त्यसैले हामीले हाम्रो पार्टीमा थिति भित्राउनुपर्छ । ”

पार्टीमा ओलीलाई कम्युनिष्ट भन्दा महन्थ ठाकुर, राप्रपा जस्ता पार्टीहरु प्यारो लागेपछि पार्टीमा यो अवस्था सृजना भएको उनले बताए । पछिल्लो समय आफ्नो पार्टीमा जनलहर बढ्दै गएको बताउँदै एमालेबाट पनि धेरै नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको उनको दावी थियो । उनले भने,“डडेलधुरा जिल्लामा एमालेको जिल्ला कमिटीनै सर्लक्कै हाम्रो पार्टीमा समावेश भएको पाएँ । त्यस्तै दार्चुलामा पनि त्यस्तै रहेछ । यसरी देशभरबाट जनलहर आएको छ । जिल्लामा जिल्लामा उत्साह छ । ” चितवनमा पनि आज नेकपा एमालेको युवा संघका स्थानीय नेतासहित १४२ भन्दा बढी पार्टी प्रवेश गरेका थिए ।

प्रतिस्पर्धाको युगमा पार्टीलाई पूर्ण परिवर्तन गर्नुपर्ने बताउँदै आफूहरुले पार्टीमा गरिने वेथितिलाई बन्द गर्नका लागि उर्दि जारी गरेको नेता नेपालले बताए । उनले भने,“विमानस्थलमा मोटरसाइकल, र्याली, खादा सहित दलवदल नजान भनेका छौँ । त्यतिमात्रै होइन कार्यक्रममा, मञ्चमा पनि एक दुई जना भन्दा बढीको आशन ग्रहण नगर्न भनेका छौँ । हामी सुधारिनुपर्छ र जनतालाई सन्देश दिनुपर्छ । ”

चितवन जिल्लामा रहेका समस्याहरुलाई आफ्नो पार्टीको प्रदेश प्रमुख भएकोबेला हल गर्दै जानुपर्ने उनको धारणा थियो । चितवनको मुख्य समस्या सुकुम्वासी रहेको र यस विषयमा सरकार गम्भिर रहेको उनले बताए । ‘हाम्रो पार्टी काममा विश्वास गर्छ, कुरामा होइन ’ उनले भने ।

नेता नेपालले नेकपा एमाले पार्टी सकिदै गएको आरोप पनि लगाए । कम्युनिष्ट पार्टीको क्रान्तिकारी झण्डा मजदुर किसानले उठाउनुपर्ने सैद्धान्तिक मान्यता रहेको भएपनि जनताको अभाव भएपछि गैँडालाई झण्डा बोक्न लगाइएको उनको आरोप थियो ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार