चितवन : कोरोना भाइरस (कोभिड-१९) का कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ। महोत्सवमा कृर्षि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई विशेष प्राथमिकता दिईएको शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

२०५३ साल देखि सुरु भएको महोत्सवको यो १३औँ संस्करण हो। हरेक दुई–दुई वर्षमा महोत्सव हुँदै आएको थियो। महोत्सवमा ४ वटा विशेष स्टल र डोमसहित ३५० स्टल रहने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए।

लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, हस्तकलाका सामग्रीले पनि विशेष स्थान पाउने अध्यक्ष श्रेष्ठले बताए। अघिल्ला महोत्सवमा पाँच सयभन्दा बढी कक्ष हुने गर्दथे। कोभिडका कारण सुरक्षा सतर्कता अपनाएर महोत्सव गर्नुपर्ने भएकाले कक्ष संख्या घटाइएको श्रेष्ठले जानकारी दिए।

महोत्सव २४सै घण्टा सिसि क्यामेराको निगरानीमा रहने छ। महोत्सवमा डोमसहितका आकर्षक कक्षसमेत रहनेछन्। महोत्सवमा स्वदेशीसहित भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका देशका उत्पादनको समेत कक्ष रहने श्रेष्ठले जानकारी दिए।

महोत्सव अवधिमा दिनहुँजसो विभिन्न विषयमा गोष्ठी हुनेछन्। ती गोष्ठीले चितवनलाई आर्थिक केन्द्र बनाउन सहयोग पुर्‍याउने संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए। महोत्सव परिसरमा विभिन्न संस्कृति झल्कने नमुना घरसँगै कृषि, पर्यटन, कलासंस्कृति झल्कने कक्ष रहने उनले बताए।

महोत्सवमा करिब ५ लाख दर्शक आउने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ। साधारणका लागि टिकट शुल्क रु ५० र विद्यार्थीलाई परिचय पत्रका आधारमा रु २५ तोकिएको छ। जेष्ठ नागरिक, असहाय र एकल महिलालाई भने महोत्सव प्रवेश निशुल्क गरिएको छ। गतवर्ष नै हुनुपर्ने महोत्सव कोभिडका कारण एक वर्ष पछि धकेलिएको हो।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार