रत्ननगर,कार्तिक १६
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अहिले रूपान्तरण आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस रत्ननगर वडा नं १३ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीमा पुस्तान्तरणको बहस भइरहेको छ तर पार्टीमा अहिले रुपान्तरण आवश्यक रहेको वताएका हुन् । कांग्रेसको सिद्धान्तले मात्र देशको मूल पार्टी नबन्ने भन्दै उनले जनजीविका र विकासको एजेन्डालाई प्राथमिकतामा राखेर पार्टीलाई रुपान्तरण गर्नुपर्ने बताए ।

अघिल्ला तीन तहको निर्वाचनमा ३० प्रतिशतको हैसियतमा कांग्रेस खुम्चिनुपरेको भन्दै वरिष्ठ नेता पौडेलले आन्तरिक एकता हुन सके कांग्रेसले आगामी चुनाव जित्छ । ‘कांग्रेस कमजोर पार्टी होइन, बनाइएको हो’ उनले भने, ‘नेता नेता र कार्यकर्ता कार्यकर्ताबीचमा एकता हुने हो भने अब कांग्रेस देशको मूल पार्टी बन्नेछ ।’ नेता पौडेलले सभापति देउवा महाधिवेशन नगर्ने मोडमा रहेको बताए । ‘देउवाले महाधिवेशन चाहेका छैनन’, उनले भने, ‘यसले कांग्रेसलाई झन कमजोर बनाउने छ ।’ १४औँ महाधिवेशन कांग्रेसको भविश्य निर्धारण गर्ने अन्तिम परीक्षा रहेको भन्दै पार्टीलाई बलियो बनाउन सक्ने र योगदान गरेको मान्छेलाई मौका दिनुपर्ने बताए ।

नेता पौडेलले पार्टीको सिद्धान्तअनुसार नेताको आचरण र व्यवहार नभएका कारण कांग्रेस पछाडि परेको उल्लेख गरे । नेता पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीशबीचमा भएको सेटिङका कारण सर्वोच्च अदालतमा अहिले रडाको मच्चिएको बताए । ‘अदालतमा कुटाकुट हुन्छ’, उनले भने, ‘हाम्रो न्यायालय कता जादै छ । सबैको भरोसाको केन्द्र अदालत रहेको भन्दै उनले न्यायलयको अहिलेको अबस्था हेर्दा मुलुक ध्वस्त हुने हो कि भन्ने भय बढेको छ ।’ कम्युनिष्ट प्रति जनताको भरोसा टुट्दै गएको भन्दै उनले कांग्रेस अब विकासको नारा लिएर जनताको माझमा जानुपर्ने बताए । कार्यक्रममा केन्द्रीय सदस्य बद्रि पाण्डेले कम्युनिस्टहरु देशमा समस्या बन्दै गएको बताए । देशको पहिलो समस्या कम्युनिष्ट,दोस्रो समस्या भ्रष्टाचार रहेको भन्दै उनले अबको एकमात्र विकल्प कांग्रेस मात्र रहेको बताए ।

वडा सभापति टोमराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडाभित्रका एकदर्जन कांग्रेसका पुराना कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्री शेषनाथ अधिकारी, जिल्ला सभापति जितनारायण श्रेष्ठ, नगर सभापति प्रल्हाद सापकोटा, क्षेत्रीय सभापति राजु सिलवाल लगायतले मन्तव्य राखेका थिए ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार