रत्ननगर,कार्तिक ५
चितवनको रत्ननगर नगरपालिकाले बर्षाले धानमा क्षति भएपछि निरास बनेका कृषकलाई राहत उपलब्ध गराउने भएको छ । अबिरल बर्षाका कारण भित्र्याउने बेला भएको धानमा क्षति भएपछि नगरपालिकाले कृषकहरुलाई राहत उपलब्ध गराउने भएको हो । नगरपालिकाका मेयर नारायण वनले किसानको खेतमै पुगेर क्षतिको अनुगमन र निरीक्षणका क्रममा किसानलाई राहत दिने घोषणा गरेका हुन ।
नगरपालिकाले प्रतिविघा दस हजार रुपैयाँ राहत उपलब्ध गराउने छ । प्रतिकठ्ठा ५०० अर्थात विघाको दस हजार रुपैयाँका दरले किसानलाई राहत उपलब्ध गराउने मेयर वनले घोषणा गरे । यो रकम प्रयाप्त होइन उनले भने भिजेको धान सुकाउन र व्यवस्थापन गर्न कामदारलाई ज्याला दिन केही सहज हुने छ ।
भिजेको धानलाई व्यवस्थापन गर्न नसके भोकमरी लाग्ने भन्दै उनले ज्याला दिने पैसाको अभावका किसानको धान खेतमा कुहिन नदिने प्रतिबद्धता जनाए । तत्काल कार्यपालिकाको बैठक बसेर राहतको विषयमा निर्णय गर्ने उनको भनाई छ । सो नगरपालिकाले १६ वटै वडामा क्षतिको विवरण संकलन गरिरहेको छ ।
कृषि विकास शाखाका कर्मचारी सहित वडाका जनप्रतिनिधि र कर्मचारीहरुले किसानको खेतमै पुगेर क्षतिको विवरण संकलन गरिरहेका छन् । बर्षाका कारण भिजेको धान खेतमै उम्रिन थालेको छ । काटेर निइन लगाएको धान उम्रिन थालेपछि किसानहरुले केही अग्लो ठाउँमा सारेर सुकाउन थालेका छन् ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार