कालिका । कालिका नगरपालिकामा लामो पैदल यात्रा तय गर्दै विद्यालय पुग्नुपर्ने वाध्यता हट्ने भएको छ । कालिका नगरपालिकाले नगरभित्रका चार वटा सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान गरे पछि विद्यालयका सम्वन्धित व्यक्तिहरु खुसि भएका छन् भने विद्यार्थीहरु उत्साहित भएका छन् । कालिका नगरपालिकाले आर्थिक वर्ष ७६/७७ को बजेटबाट दुई वटा र आर्थिक वर्ष ७७/७८ को बजेटबाट दुई वटा गरी चार वटा सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले जानकारी दिए। सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नगरभित्रको सामुदायिक विद्यालयमा पनि बस प्रदान गरिएको उनको भनाई थियो ।

आर्थिक वर्ष ७६/७७ को बजेटबाट पृथ्वी मावि जुटपानी र आधारभूत विद्यालय समीपुरलाई एक एक वटा बस हस्तान्तरण गरिएको थियो। बुधबार शक्तिखोरको चतुर्मुखी मावि र पदमपुरको भिमोदय माविलाई स्कुल बस हस्तान्तरण गरिएको हो। मेयर खुमनारायण श्रेष्ठले चतुर्मुखी माविका अध्यक्ष वीरबहादुर थापा, प्रधानाध्यापक चन्द्रबहादुर गुरुङ तथा भिमोदय माविका अध्यक्ष अमृत श्रेष्ठ र प्रधानाध्यापक डा. हरि कँडेललाई बस हस्तान्तरण गरेका थिए।

सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै विद्यार्थीको भविष्य सुनिश्चितताको लागि सेवा थप गरिएको कालिकाका मेयर श्रेष्ठले बताए। ‘सेवा बढाउँदा शैक्षिक गुणस्तर सुधार हुनैपर्छ,’ मेयर श्रेष्ठले भने, ‘शैक्षिक सुधारकै लागि स्कुल बस प्रदान गरिएको हो।’ पहाडी क्षेत्रमा रहेका चेपाङ बालबालिकाको शिक्षामा सहजताको लागि अझै पनि समस्या रहेको भन्दै मेयर श्रेष्ठले उनीहरुको शिक्षाको सुनिश्चितताका लागि आवासीय विद्यालय निर्माण भइरहेको जानकारी दिए। कालिका नगरपालिकामा ३५ वटा सामुदायिक र ११ वटा संस्थागत विद्यालय छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय