श्रावण १३, चितवन । इच्छाकामना गाउँपालिका वडा नं १ का सीमान्तकृत चेपाङ समुदायलाई फलफूल तथा घाँसको विरुवा वितरण गरिएको छ। सौराहा स्थित सपना भिलेज सोसिएल इम्प्याक्टले गाउँपालिकाको वडा नं १ अन्तर्गत कालिङडाँडा र कोलभन्ज्याङका चेपाङ समुदायलाई सुन्तला, कागती र घाँसको विरुवा वितरण गरेको हो। सो वडाका ७५ चेपाङ परिवारलाई २ हजार वटा सुन्तला र १ हजार ६०० वटा कागतीका विरुवा वितरण गरिएको सपना भिलेज सोसिएल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए।

इच्छाकामना गाउँपालिका बाख्रापालनको पकड एरिया मानिने हुदा ३ हजार ८०० बोट घाँसको विरुवा वितरण गरिएको छ। यसअघि बोयर जातको बोका वितरण गरेको सो संस्थाले बाख्रा उत्पादनमा लागत मूल्य घटाउन टाँकी, बकाइनो, इपिल–इपिल, किम्बु र खयरको विरुवा वितरण गरेको हो। इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेत, परियोजना निर्देशकहरु अनिल अर्याल, मीनराज सापकोटाले फलफूल तथा घाँसका विरुवा हस्तान्तरण गरेका थिए। आफुले प्राप्त गरेका बिरुवा हुर्काउन आफुहरु लागिपर्ने चेपाङ समुदायको प्रतिक्रिया थियो ।

इच्छाकामना गाउँपालिकाका चेपाङ लगाएत अन्य विपन्न समुदायको आर्थिक तथा सामाजिक विकासको लागि सपना भिलेजले ‘सबै यात्राको सुरुवात एक सपनाबाट हुन्छ’ नामक परियोजना सञ्चालन गरिरहेको छ। वडा नं १ का ६६५ परिवारलाई समेटेर सो संस्थाले प्रतियोगितामार्फत आयआर्जन, सरसफाइ, शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको छ। स्थानीयस्तरमा भएको स्रोत र साधनको प्रयोगबाट चेपाङ समुदायको जीवनस्तर उकास्ने गरी काम गरिएको इम्प्याक्टका अध्यक्ष गिरीले बताए। विपन्न समुदायका लागी लक्षित गरि अन्य धेरै कार्यक्रमहरु तय भएको समेत उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय