काठमाडौं : फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोटका लागि दोस्रो चरणको बाँकी म्याच आजदेखि आजदेखि सुरु हुँदैछन् । समूह ‘बी’ मा रहेको नेपालले सोही छनोटअन्तर्गत आज चाइनिज ताइपेईको सामना गर्दैछ ।

नेपाल र ताइपेईबीचको खेल कुवेतको जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण नेपालमा कान्तिपुर टेलिभिजनमार्फत् हेर्न सकिनेछ । समूह ‘बी’ मा ५ खेल खेलिसकेको नेपालले यसअघि एक जित हात पारेको थियो । त्यो चाइनिज ताइपेइविरुद्ध नै थियो ।

नेपालले अवे मैदान सबै खेल खेलिसकेकोले बाँकी तीन खेल घरेलु मैदानमा खेल्ने तय भएपनि कोरोनाका कारण एएफसीले बाँकी खेलहरू सेन्ट्रल भेन्युमा गर्न लागेको हो । त्यसैले समूह ‘बी’ को सबै खेल कुवेतमा हुँदैछ । नेपाली टोली बलियो इराकसँग मैत्रीपूर्ण खेल खेलेर कुवेत पुगेको हो । इराकसँग ६-२ ले पराजित भए पनि नेपालले आफ्नो कमजोर पक्षहरू थाहा पाउने मौका पायो ।

कोरोना महामारीको कारण १८ महिनापछि छनोट चरणका खेलहरू हुन लागेको हो । नेपालले पछिल्लो पटक सन् २०१९ नोभेम्बरमा भुटानको थिम्पुमा कुवेतसँग होम म्याच खेलेको थियो । त्यसयता नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण म्याच र घरेलु मैदानमा त्रिदेशिय कप फुटबलसमेत खेल्यो । तर चाइनिज ताइपेइ भने २०१९ नोभेम्बरमा जोर्डनसँग खेलेयता पहिलोपटक खेल्दैछ ।

दुवै टिममा युवा र नयाँ खेलाडीहरू समावेश गरिएको छ । नेपाली टिममा यस पटक ६ नयाँ खेलाडी छन् जसमध्ये मनिस डाँगी र गौतम श्रेष्ठले इराकविरुद्धको खेलमार्फत डेब्यू गरिसकेका छन् । नेपाल र चाइनिज ताइपेइ यसअघि दुईपटक खेलेका थिए जसमा नेपाल अपराजित छ । २०१९ जुनमाभएको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो भने २०१९ सेप्टेम्बरमा भएको खेल नेपालले २-० ले जितेको थियो । नेपालले बाँकी दुई खेल जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय