चितवन : चितवनका पाँच राजनीतिक दलले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली तानाशाहको बाटो हिँड्न खोजेको आरोप लगाएका छन् । चितवनका पाँच राजनीतिक दलले प्रतिनिधिसभा विघटन गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाली जनताको सात दशक लामो बलिदानपूर्ण संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मुल मर्म र भावनाविपरीत मध्यरातमा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र अराजनीतिक स्वैच्छाचारी कदमकोे घोर भत्र्सना गरेका छन् ।

‘प्रधानमन्त्री र स्वयं राष्ट्रपति समेत अलोकतान्त्रिक, निरकुंश, तानाशाहको बाटो हिँड्न खोजेको प्रमाणित भएको छ । तसर्थ संवैधानिक र राजनीतिक विधिबाट समेत यस प्रकारको अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी कदम सच्चाउँदै देशलाई संविधानवाद र लोकतान्त्रिक दिशामा अघि बढाउने अभियानमा सरिक भइदिनु हुन सम्पूर्ण राजनितिक दल, नागरिक समाज, पत्रकार, पेशाकर्मीलगायत सम्पूर्ण चितवनवासी सबैमा हार्दिक अपील गर्दछौंँ’ पाँच राजनीतिक दलद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसका सभापति जीतनारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत, नेकपा एमालेका अध्यक्ष तेजेन्द्रबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरी, जनता समाजवादी पार्टीका अध्यक्ष प्रेम भुजेलद्वारा जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य तथा जनजीविकालगायतका निम्न लिखित विषयहरुमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहेको कुरा उल्लेख छ ।

१ नेपाल सरकारद्वारा गरिएका कोभिड १९ को निःशुल्क उपचार गर्ने निर्णय कार्यन्वयन गरियोस् । साथै, अस्पतालहरुमा देखियको अक्सिजन,खोप,लगायत स्वास्थ सामाग्रीको यथोचित व्यवस्था गरियोस् ।

२ बन्दाबन्दीको कारण प्रभावित मजदुर,किसान,सुकुम्बासी जनताको जिवननिर्वाहको निम्ति तुरुन्त राहतको व्यवस्था गरियोस् ।

३ स्थानीय कृषि उत्पादन तरकारी तथा खाद्य उत्पादनको बिक्री वितरण व्यवस्था मिलाइयोस् साथै महगी र कालो बजारी नियन्त्रण गरियोस् ।

विज्ञप्तिमा कोभिड १९ को नियन्त्रण, रोकथाम, उपचार कार्यमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई स्वयमसेवी भूमिकामा सक्रिय भूमिका निर्वाह गर्न जिल्लाका पाँच राजनीतिक दल सम्बद्ध पार्टी कमिटी, भातृ जनवर्गीय संगठन एवं शुभेच्छुकहरुमा आव्हान समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय