विराटनगर : मोरङको उर्लाबारीमा एक युवाको शंकास्पद मृत्यु भएको घटनाको अनुसन्धानमा लापरबाही भएको भन्दै परिवारका सदस्य र आफन्त आन्दोलित बनेका छन् । प्रहरीले अनुसन्धानमा लापरबाही गरेर घटनालाई कमजोर बनाउन खोजेको आन्दोलनमा उत्रिएकाहरुको आरोप छ । उनीहरुले अनुसन्धानमा लापरबाही गरिएको भन्दै आइतबारदेखि आन्दोलन थालेका हुन् । आन्दोलनरत उनीहरुले सोमबार पनि नाराबाजी र प्रदर्शन गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गर्दा त्यहाँको अवस्था दिनभर तनावपूर्ण बन्यो ।
उर्लाबारी नगरपालिका– ५ का ३१ वर्षीय प्रवीण वास्तोलाको मृत्यु गत पुस ५ गते भएको थियो । प्रहरीका अनुसार अघिल्लो रात साथीभाइसँग होटलमा खानपिन गरेर उर्लाबारी–६ का रमेश गिरीको घरमा उनी सुत्न गएको खुलेको प्रहरीको भनाइ छ । गिरीको घरमा भाडामा बस्ने साथीहरुसँग होटलमा खानपिन गरेर उनी साथीकै कोठामा सुत्न गएको प्रहरीले जनाएको छ । ओछ्यानमै बेहास अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि गोदावारी अस्पताल लगिएको थियो ।
परिवारका सदस्यले अस्पतालमै उनको मृत शरिर देखेको आफन्त दीपक वास्तोलाले बताए । परिवारका सदस्य र आफन्तले यसअघिदेखि नै प्रवीणको हत्या भएको दाबी गरिरहे पनि शरीरमा कुनै चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ । दीपकले प्रवीणको मृत्युको अनुसन्धान प्रतिवेदनमा अर्कै व्यक्तिको फोटो राखेर प्रहरीले लापरबाही गरेको बताए । घटना अनुसन्धान गरेको प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदनसहितको मिसिल बुझाउँदा मृतकको तीनवटा फोटो राखेको थियो । जसमा एउटा फोटो भने अरु नै व्यक्तिको परेको पाइए पछि आन्दोलनमा उत्रनु परेको दीपकको भनाइ छ ।
अर्कै व्यक्तिको फोटो राखेर अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएका कारण सरकारी वकिलको कार्यालयलले मुद्दा नचलाएको आफन्तको आरोप छ । प्रहरीले तीन जनालाई पक्राउ गर्दै घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने भन्दै माघ २ गते उनीहरुलाई हाजिरी जमानीमा छाडिदिएको थियो । अनुसन्धान प्रतिवेदन अध्ययनपछि अहिले नै मुद्दा चलाउन नमिल्ने ठहर गर्दै कार्यालयले फाइल फिर्ता पठाएको हो । मृत्यु शंकास्पद रहेको भन्दै पुस ९ गते परिवारका सदस्यबाट किटानी जाहेरी परेपछि प्रहरीले उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेली, दीपेश पौडेल र शिवा भनिने मेहरमान दर्जीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको थियो ।
मृतककी बहिनी सदीक्षाले प्रहरी कार्यालयमा पुगेर मिसिल हेर्दा आफ्नो दाजुको फोटो परिवर्तन गरेर अर्कै व्यक्तिको राखेको पाइएको बताइन् । मिसिलमा तीनवटामा एउटा फोटो अर्कै व्यक्तिको राखेका कारण प्रहरीको भूमिका शंकास्पद देखिएको उनको भनाइ छ । मिसिलमा रहेको फोटो दाजुको हैन भने पछि प्रहरीले हतारहतार परिवर्तन गरिदिएको सदीक्षाको गुनासो छ । अपराधीलाई संरक्षण गरेको लगायतका आरोप लगाएर प्रहरीविरुद्ध चर्को आवाज उठाउँदै उनले सामाजिक सञ्जालमार्फत आन्दोलनको लाइभ गरेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा छटपटिका कारण मृत्यु भएको उल्लेख भएको बताउँदै सदीक्षाले प्रहरीले भने घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोप लगाइन । प्रहरीले पनि फोटो भुलबस अर्कै परेको स्वीकार गरेको छ ।
मोरङ प्रहरीका डीएसपी लोकदर्शन थापाले फोटो राख्ने क्रममा त्रुटि भएको र घटनाको अनुसन्धान अझै पनि जारी रहेको बताए । फोटोमा त्रुटि भएपनि अहिलेसम्म भएको घटनाको अनुसन्धानमा कुनै लापरबाही र कमजोरी नभेटिएको उनको भनाइ छ । उनका अनुसार घटनाको छानबिनका लागि अर्का डीएसपी मानबहादुर राईको नेतृत्वमा टोली बनाइएको छ । अहिले सम्म कुनै कमजोरी भएको नदेखिएको र छानबिनबाट घटनाको अनुसन्धानमा लापरबाही गरेको पुष्टि भए कारबाही हुने थापाको भनाइ छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले फोटो अर्कै व्यक्तिको परेको भएपनि गलत वा लापरबाही गर्ने मनसायले त्यस्तो नगरिएको बताए ।
एउटा मात्रै राख्दा हुने ठाउँमा अनुसन्धानलाई थप मजवुत बनाउन तीनवटा फोटो राखिएको हो, उनले भने, ‘लापरबाही नै गर्ने हुँदा अरु दुईवटा फोटा चैँ किन मृतककै राखिन्थ्यो होला र पोखरेलले गलत नियत नराखिएको स्पष्ट पार्दै अनुसन्धानको प्रक्रिया अझै धेरै बाँकी रहेकाले अनुसन्धान पूरा भएपछि वास्तविकता बाहिर आउने भएकाले नआत्तिन र प्रहरीमाथि कुनै पनि शंका नगर्न सबैमा आग्रह गरेका छन् । पीडितका अनुसार मिसिलमा मृतकको भनि चाँदीको सिक्री लगाएका अर्कै व्यक्तिको फोटो राखिएको थियो । सदीक्षाका अनुसार मृत अवस्थामा फेला पर्दा प्रवीणको गलामा सिक्री थिएन । यद्यपी प्रहरीले अनुहार नै नचिनिने व्यक्तिको फोटो घटनास्थल मुचुल्कामा संलग्न गरेको उनको आरोप छ ।