काठमाडौं,माघ २९
नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै ‘जरुरी पक्राउ पूर्जी’ थमाएर उनलाई बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । उनलाई मीनभवनस्थित अपराध महाशाखा प्रमुख दिपक कार्कीको कार्यकक्षमा राखिएको थियो ।
प्रहरीले राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गरेको थियो । ‘राष्ट्रपति संस्थाप्रति सम्मान छ किनकि हाम्रो आन्दोलन रगत पसिनाले स्थापित गरेको संस्था हो’ झाँक्रीले भनिन्, त्यहाँ पुग्ने पात्रहरूको क्रियाकलापको आलोचना गरिएको छ, यसमा पश्चाताप गर्नुपर्ने केही छैन ।’
प्रहरीले उनीसँग सोधपुछ गरिरहँदा पक्राउको चौतर्फी विरोध भइरहेको थियो भने प्रचण्ड–माधव समूह सम्बद्ध युवा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । चौतफी दबाबपछि प्रहरीले उनलाई झण्डै साढे ५ घण्टा नियन्त्रणमा राखेर रिहा गरेको हो ।