चितवन : विकास र समृद्धिका लागि केन्द्र राजनीतिले स्थानिय तहका विकास आयोजनालाई प्रभाव पार्न नहुने भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताएकी छन् ।
केन्द्रको राजनैतिक किचलो आफ्नै ठाँउमा छ, उनले भनिन्, हामी विकास र समृद्धीका लागि कटिवद्ध भएर काम गरेका छौँ, यसमा प्रभाव पार्नु हुदैन् । विकास र समृद्धीमा राजनिति नगरौँ ।
सातौँ नगरसभाका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर रेनुले केन्द्रिय राजनीतिको प्रभाव भरतपुरमा पर्न नदिन आफु प्रतिवद्ध रहेको प्रष्ट पारिन् । “भरतपुर महानगर विकास र समृद्धि चाहन्छ , हामी कुनै पनि अस्थिरताको कारण हाम्रो विकासलाई रोक्न सक्दैनौ ।” उनले भनिन, “जनताले हामीलाई समृद्धि र विकासको लागी मत दिएका हुन्। हामी त्यसैमा केन्द्रित छौ। आन्तरिक किचलो गर्ने हामीलाई छुट छैन। ”
कोभिड-१९ ले प्रभाव पारेपनि भरतपुरको राजस्व संकलन सन्तोषजनक
कोभिड १९ का कारण राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर परे पनि भरतपुरमा भने राजस्व संकलन लक्ष्य उन्मुख देखिएको छ। कोरोनाका कारण देशको आर्थिक अवस्था मजबुद हुन नसक्दा पनि भरतपुर महानगरले राम्रै राजस्व संकलन गर्न सफल भएको हो। यद्यपी गत वर्षको तुलनामा भरतपुर महानगरमा राजस्वमा कमी आएको छ ।
भरतपुर महानगरको सातौ नगरसभामा नगर प्रमुख रेनु दाहालबाट भएको आर्थिक वर्ष २०७७\०७८ को नीति तथा कार्यक्रम एवं बजेट कार्यान्वयनको समीक्षात्मक प्रस्तुतिमा कोभिड १९ का कारण पनि राजस्व संकलनमा निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख छ । २०७७ साल पौष २३ गतेसम्म महानगरपालिको आन्तरिक राजस्व रु २२ करोड २७ लाख ९९ हजार १४ रुपैयाँ संकलन भएको छ ।
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४१ प्रतिशत अर्थात् रु ९८ लाख ३३ हजार ४३६ सय ४६ ले कमी भएको महानगर प्रमुख दाहालले बताइन् । उनका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को प्रभाव लगायतका कारण महानगरपालिकाको आन्तरिक आयमा केही कमी आएको छ । यद्यपी यस अवधिसम्मको आन्तरिक आयको तथ्याङ्कलाई विश्लेषण गर्दा निराशाजनक अवस्था नरहेको प्रमुख दाहालको भनाइ छ ।
महानगर प्रमुख दाहालले नगर सभामा चालु आर्थिक वर्ष २०७७÷०७८ को लागि कूल राजस्व रु ३ अर्ब ३१ करोड ६४ लाख ८९ हजारमध्ये आन्तरिक श्रोततर्फ रु ९० करोड अनुमान गरिएको जानकारी गराएकी थिइन् । उनका अनुसार उक्त आन्तरिक राजस्वका श्रोतका शीर्षकहरूमा मुख्य रूपमा घर वहाल करतर्फ रु ८ करोड, नक्सा पास दस्तुरतर्फ रु ७ करोड २० लाख, एकीकृत सम्पत्ति करतर्फ रु ४ करोड, व्यवसाय दस्तुरतर्फ रु ६ करोड, विभिन्न सिफारिस दस्तुरतर्फ रु ७ करोड, अन्य क्षेत्र आय रु ४० करोड, अन्य बिक्रीमा ढुङ्गा, गिट्टीलगायतका बिक्रीबाट जम्मा रु ६ करोड ८० लाखसमेत गरी राजस्व प्रक्षेपण गरिएको थियो ।